नयाँ दिल्ली: लोकसभाको लागि आज पाँचौँ चरणको मतदान भइरहेको छ। मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट शुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ। लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान शुरु भएको हो। महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७, बिहार र ओडिसाका पाँच–पाँच, झारखण्डका ३, जम्मु-कश्मिर र लद्दाखमा एक–एक सिटका लागि मतदान हुन भइरहेको छ। आज हुने मतदानले भारताका सत्तापक्ष र प्रतिपक्षका लामो समयदेखि राजनीतिमा होमिएका चर्चित सांसद र मन्त्रीको आगामी राजनीतिक यात्रा तय गर्ने भएकाले पनि कतिपय स्थानको मतदानलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।
रक्षामन्त्री राजनाथ सिंह, भाजपा नेता तथा केन्द्रीय मन्त्री स्मृति इरानी, कांग्रेस नेता राहुल गान्धी, केन्द्रीय मन्त्री पीयूष गोयल, बिहारका पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिनी आचार्यलगायतको हार जितको फैसला गर्नेछ। भारतामा गत अप्रिल १९ देखि सुरु भएको निर्वाचन प्रकृयामा मतदानको चौथो चरण पूरा भई पाँचौ चरणमा आइपुगेको छ। मतदान अन्तरगत छैटौं चरणको निर्वाचन २५ मईमा र अन्तिम चरणको मतदान १ जूनमा गर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि ४ जूनमा मतगणना हुनेछ।