सत्तारूढ़ एसकेएम पार्टीको जन उन्मुक्ति दिवसलाई लिएर रिफर्म कलको प्रश्न

IMG_20220808_225940.jpg

गान्तोक: रिफर्म कलका प्रतिनिधिद्वय महेश राई र अल्बर्ट गुरूङले सोमवार आयोजित एक पत्रकार सम्मेलन गर्दै सत्तारूढ़ एसकेएम पार्टीको जन उन्मुक्ति दिवसलाई लिएर रिफर्म कलले प्रश्न उठाएको छ। राज्यका जनता अझै पनि उन्मुक्त भएका छैनन् भन्दै रिफर्म कलले जन उन्मुक्ति दिवस पालन गर्नुको कुनै औचित्य नरहेको बताएको छ।
महेश राईले एसकेएम पार्टीमाथि राज्यका जनताले ठूलो विश्वास अनि भरोसा गरेको थियो, तर एसकेएम सरकारले जनताको आशा विपरित काम गरिरहेको आरोप लगाए। राज्यवासीहरूले एसकेएम सरकारमाथि अन्याय, अत्याचार, शोषण, भाइभतिजावाद आदिबाट उन्मुक्तिको आशा राखेको आसय व्यक्त गर्दै उनले वर्तमान सरकारमा राज्यवासीहरूले अझ बढी अन्याय र अत्याचार सहन गर्नु परिरहेको आरोप लगाए। उनले वर्तमान एसकेएम सरकार पनि पूर्व सरकारकै लाइनमा अगाड़ी बढिरहेको दाबी गरे।

राईले एसकेएम सरकारमाथि आफ्नो घोषणा पत्रका वाचाहरूलाई पूरा नगरेको पनि आरोप लगाए। एसकेएमको एउटा ठूलो मुद्दा सीबीआई जॉंच थियो, तर आजसम्म आफ्नो वचन पूरा गरेको छैन भनी उनले बताए। यस अतिरिक्त, उनले शिक्षकहरूका लागि एक वर्षको मातृत्व अवकाश घोषणा गरिएकोमा प्रतिक्रिया जनाउॅंदै यो नीति सम्पूर्ण महिला कर्मचारीहरूमाथि लागू गरिनुपर्छ भन्ने विचार व्यक्त गरे।

यसै गरी अर्का प्रतिनिधि अल्बर्ट गुरूङले सरकारले निर्धारण गरेको न्यूनतम ज्याला आधारभूत ज्यालाभन्दा घटाएर दिएको दाबी गर्दै आपत्ति जनाए। उनले कुनै पनि नीति कार्यान्वयन गर्नअघि सरकारले हितधारकहरूसॅंग सर सल्लाह गरेर अनि विशेषज्ञहरूको विचार लिएर मात्र लागू गर्नु पर्छ भनी सुझाउ पनि दिए। एसकेएमले आफ्नो घोषणा पत्रमा २० हजार न्यूनतम ज्याला बनाउने घोषणा गरेको थियो, तर सत्तामा आएको लगभग चार वर्ष पुग्न लाग्दा पनि उक्त वचन पूरा नगरेको उनले आरोप लगाए। उनले परिवर्तनमा नाममा एसकेएम सरकारमा आए तापनि आजसम्म कुनै प्रकारको परिवर्तन देखा परेको छैन भनी बताए।

स्मरण रहोस्, एसकेएम पार्टीले १० अगस्तलाई जन उन्मुक्ति दिवसको रूपमा मनाउॅंदै आइरहेको छ। मुख्यमन्त्री तथा एसकेएम पार्टीका अध्यक्ष पीएस तामाङ १० अगस्त, २०१८ मा एक वर्ष जेलको सजाय काटेर छुटेका थिए। सोही दिनलाई एसकेएमले जन उन्मुक्ति दिवसको रूपमा मनाउने गर्दछ। आगामी १० अगस्तको दिन पनि जोरथाङमा भव्यरूपमा जन उन्मुक्ति दिवस पालन गर्ने तयारी चलिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *