म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन बार्सिलोनाले दोस्रो स्थान पक्का गऱ्यो। यसबीच अगावै च्याम्पिन बन्ने रियल म्याड्रिड ड्र-मा रोकियो भने एट्लेटिको म्याड्रिडले चाहिँ हारको सामना गर्नु पऱ्यो। बार्सिलोनाले आइतवार राति खेलिएको म्याचमा रायो भाल्लोकानोलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट पेड्रीले ७२औं र ७५औं मिनटमा २ गोल गरे। यसबाहेक रोबर्ट लेवाण्डोस्कीले तेस्रो मिनटमा गोल गरे। यस जीतपछि बार्सिलोना ३७ वटा म्याचमा ८२ पोइण्ट्सको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। अब सीजनको अन्तिम चरणका म्याचहरूमा जे-जस्तै परिणाम रहे पनि बार्सिलोनाको दोस्रो स्थानलाई कुनै खतरा छैन।
यसबीच च्याम्पियन रियल म्याड्रिडले चाहिँ भिल्लारियल विरुद्ध ४-४-को ड्र-मा सन्तोष मान्नु पऱ्यो। यस अवे म्याचको मध्यान्तरसम्म रियल म्याड्रिड ४-१-ले अघि रहेको थियो तर एलेक्साण्डर सरलोथको उत्कृष्ट प्रदर्शनले भिल्लारियल म्याच ड्र गर्न सफल भयो। भिल्लारियलबाट म्याचको चारैवटा गोल सरलोथले दर्ता गरे। उनले म्याचको ३९औं, ४८औं, ५२औं र ५६औं मिनटमा गोल गरे। यसरी रियल म्याड्रिडबाट एर्डा गुलेरले १४औं र इञ्ज्युरी टाइमको दोस्रो मिनटमा २ गोल गरे। यसबाहेक जोसेलुले ३०औं र लुकास भाजक्वेजले ४०औं मिनटमा गोल गरे। यस जीतपछि रियल ९४ पोइण्ट्सको साथ शीर्षमा कायम रह्यो। भिल्लारियल ५२ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा एट्लेटिको म्याड्रिडले ओसासुना विरुद्ध १-४-ले हारको सामना गर्नु पऱ्यो। होम ग्राउण्डमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट अल्वारो मोराटाले ५५औं मिनटमा गोल गरे। यसरी ओसासुनाबाट राउल गार्सियाले २६औं र ६४औं मिनटमा २ गोल गरे। यसबाहेक एमर ओरोजले ५२औं र लुकास टोरोले ८८औं मिनटमा गोल गरे। एट्लेटिको म्याड्रिड ७३ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। यसरी ११औं स्थानमा रहने ओसासुनासँग ४४ पोइण्ट्स रहेको छ।