झापा: नेपालमा करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएका छन्। वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत अप्रिल महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ।
चालु आर्थिक वर्ष २०२३/२४ को जुन यताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष अप्रिलमा डढेलोको घटना भएका छन्। विभागको तथ्याङ्कानुसार चालु आवका जुनमा डढेलोको घटना शून्य छ। वर्षात्को समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ।
यसैगरी विभागको तथ्याङ्कानुसार जुलाईमा एक, अगस्तमा तीन, अक्टुबरमा पाँच, नोमेंबरमा ३५, दिसम्बरमा एक सय तीन आगलागीका घटना भएका थिए। यसैगरी जनबरीमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फरबरीमा डढेलाको सङ्ख्या बढेर दुई सय छ पुग्यो।
मार्च महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ। यसैगरी अप्रिलमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो। विभागका अनुसार चालु आर्थिक वर्षको अप्रिलvमहिनासम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन्। विभागको तथ्याङ्कानुसार यही अप्रिल यता भने ३० डढेलोको घटना भएको जनाइएको छ। आज एकैदिन सात डढेलोको घटना भएका छन्।
विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताउछन ।
‘नेपालको भिरालो स्थान र हावाको गति बढ्दा पनि डढेलो नियन्त्रणमा चुनौती भएको छ’, उनले भने , ‘डढेलो नियन्त्रणका लगि अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वय आवश्यक रहेको छ।’
उनका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ। डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलाको घटना हुन्छन्।
‘असी प्रतिशत डढेलाको घटना फरबरीको मध्यदेखि अप्रिलको मध्यसम्म चार महिनामा हुने गर्छन्। मार्च र अप्रिलमा मात्र ६० प्रतिशत डडेलोका घटना हुने गर्छन्। यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ’, उनले भने , ‘मध्य फरबरीदेखि अप्रिलको मध्यसम्म डढेलाका घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ। अप्रिलको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ। यो समयमा डढेलाको घटना बढी हुने गरेको पाइन्छ।’