हैदराबाद: प्लेअफ्-मा स्थान सुरक्षित गरिसकेको सनराइजर्स हैदराबादले आईपीएल २०२४-मा आफ्नो अन्तिम लीग म्याचमा पञ्जाब किंग्स विरुद्ध ४ विकेटले रोमाञ्चक जीत दर्ता गऱ्यो। सनराइजर्स १४ वटा म्याचमा १७ पोइण्ट्सको साथ आईपीएल टेबलको दोस्रो स्थानमा रहन पुग्यो। यसरी पञ्जाब चाहिँ १४ वटा म्याचमा १० पोइण्ट्सको साथ नवौं स्थानमा रह्यो। आज दिनको पहिलो म्याचमा पञ्जाब किंग्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेटमा २१४ रन बनायो तर सनराइजर्सले पनि १९.१ ओभरमै ६ विकेटमा लक्ष्यलाई हासिल गऱ्यो। लक्ष्यलाई खेदो गर्दै ओपनर ट्रेविस हेड पहिलो बलमै आउट भए पनि प्लेयर अव् द म्याच रहने अभिषेक शर्माले सनराइजर्सलाई म्याचमा कायम राखे। अभिषेकले राहुल त्रिपाठीसँग मिलेर दोस्रो विकेटको निम्ति २९ बलमा ७२ रन अनि पछिबाट नितिश कुमार रेड्डीसँग तेस्रो विकेटको निम्ति ५७ रनको पार्टनरशीप गरे। राहुलले १८ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ ३३ रन बनाए। अभिषेक एघाह्रौं ओभरमा आउट भए। उनले ६ वटा छक्का र ५ वटा चौकाको साथ २८ बलमा ६६ रन बनाए। त्यसपछि नितिश र हेनरिक क्लासेनले मिलेर स्कोरलाई १७६ रनसम्म पुऱ्याए। नितिश ३ वटा छक्का र एउटा चौकाको साथ ३७ रन बनाए। यसरी क्लासेनले २६ बल खेलेर ३ वटा चौका र २ वटा छक्काको साथ 42 रन बनाए। अब्दुल सामदले अविजित ११ र सनवीर सिंहले अविजित ६ रन बनाएर टीमलाई जीत दिलाए। पञ्जाबका बलरहरूमा अर्शदीप सिंह र हर्षल पटेलले २-२ विकेट बाँड़े। यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर २१४ रनको विशाल स्कोर बनायो। ओपनर प्रभसिमरन सिंहले असाधारण ब्याटिंग गर्दै ४५ बलमा ७ वटा चौका र ४ वटा छक्काको साथ सर्वाधिक ७१ रन बनाए। उनले पहिलो विकेटको निम्ति साधी ओपनर अथर्व ताइदेसँग मिलेर ५५ बलमा ९७ रनको पार्टनरशीप गरे। अधर्व २७ बलमा ५ वटा चौका र २ वटा छक्काको साथ ४६ रन बनाएर आउट भए। प्रभसिमरनले राइली रुसोबाट पनि असल साथ पाए। यी दुईले दोस्रो विकेटको निम्ति तेजीको साथ ५४ रन जोड़े। प्रभसिमरन आउट भएपछि पञ्जाबले अन्तिम ओभरहरूमा लगातार अन्तरालमा विकेट गुमाउन थाल्यो। प्रथम एकादशमा सामेल एकमात्र विदेशी खेलाड़ी रुसोले ४ वटा छक्का र ३ वटा चौकाको साथ २४ बलमा ४९ रन बनाए। कप्तान जितेश शर्मा (१५ बलमा अविजित ३२ रन)- ले ईनिंग्सको अन्तिम दुई बलमा लगातार छक्का लगाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए।