सोनादा: सोनादा डिग्री कलेजको नेपाली विभागले कलेजको आन्तरिक गुणवत्ता आश्वासन सेल(आईक्युएसी) को सह-कार्यमा समालोचक रामकृष्ण शर्मा अन्तर महाविद्यालय तर्क प्रतियोगिता कलेजका शिक्षक प्रभारी डा.रागिनी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। मातृभाषामा शिक्षा विषयमा राखिएको उक्त तर्क प्रतियोगितामा पक्ष-विपक्षमा क्रमैले सन्त जोसेफ महाविद्यालयबाट नोर्देन लामा र अक्षय शर्मा, खरसाङ कलेजबाट धिरज छेत्री र दीपराज छेत्री, साउथ साउथफिल्ड कलेजबाट सिमरण तामाङ र दिपसाङ तामाङ, कालेबुङ कलेजबाट सङ्गम थापा र जोएल राई, घूम जोरबङ्गलो डिग्री कलेजबाट विज्ञान्ता राई र प्रितम मैनाली, सोनादा डिग्री कलेजबाट महिमा राई र नियाता तामांग ‘जिम्बा’ ले भाग लिएका थिए। निर्णायकगणमा डा. राजकुमार छेत्री, डा. गीता छेत्री र डा. इगम खालिङले दिएको निर्णयको आधारमा सन्त जोसेफ महाविद्यालय प्रथम, कालेबुङ कलेज दोस्रो र घूम जोरबङ्गलो डिग्री कलेज तेस्रो भएका थिए भने सर्वश्रेष्ठ तार्किक कालेबुङ कलेजकी सङ्गम थापा(सुधा संगम)भएकी थिईन्। बिजयी र सहभागी सबै प्रतियोगीहरूलाई आयोजक कलेजको तर्फबाट प्रमाण पत्र र पुरस्कारहरू प्रदान गरिएको थियो। प्रा. मेघनाथ छेत्रीद्वारा सञ्चालित उक्त तर्क प्रतियोगितामा प्रा पर्वत रसाइलीले स्वागत वक्तव्य र प्रा. अनिलकुमार विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए। तर्क सभाको सान्दर्भिकता बारेमा सन्त जोसेफ कलेजका डा राधा शर्माले अनि निर्णायक मण्डलीको पक्षमा डा राजकुमार छेत्रीले मन्तव्य दिएका थिए। यस अवसरमा डा. राजकुमार छेत्री र डा. गीता छेत्रीले आ-आफ्ना प्रकाशित सम्पूर्ण कृतिहरूको केही प्रति सोनादा डिग्री कलेजको पुस्तकालयलाई प्रदान गरेका थिए। तर्कसभा प्रतियोगिता कार्यक्रम सम्पन्न गर्न कलेजका सम्पूर्ण शिक्षण- अशिक्षणकर्मी र विद्यार्थीहरूले दिएको योगदानप्रति डा. रागिनी थापाले खुशी व्यक्त गर्दै सम्भवत आगामी जुलाई महीनामा कलेजमा फेरि अन्तर विद्यालय तर्क प्रतियोगिता सम्पन्न हुने कुरोको पनि जानकारी दिइन्।