झापा: नेपाल पुलिसका जवान युवराज घिमिरेको हत्या आरोपमा पुलिसले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ। ट्राफिक पुलिस प्रभाग दरबारमार्गमा कार्यरत पुलिस जवान घिमिरेको शव मई १७ शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। पुलिसले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो। उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए। उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको पुलिसको भनाई छ। पक्राउ गर्ने क्रममा पुलिसले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।खोटाङको मजुवागढी गाउँपालिका-१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ। स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो। घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए।