नेपाली युवाको चित्कार रूसी सैनिकले मार्दै छ बचाउ

IMG-20240519-WA0041.jpg

झापा: रूसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा संवाद चलिरहेको थियो।एकजना युवा रुँदै भनिरहेका थिए, ‘हिजोसम्म त मारे नि मार्लान् केही छैन; मरे पनि मरुँला भनेर यहाँ आएको हुँ भन्ने सोचिरहेको थिएँ। आज बिहानै छोरीले परीक्षा दिएको कुरा सुनाइन्। त्यसपछि झसंग भएँ। मेरो त परिवार छ, मरेँ भने त उनीहरूको बिचल्ली हुन्छ!’ उनी एकोहोरो अनुनय गरिरहेका थिए, ‘मलाई त निश्चित मार्छन्। तपाईंहरूले सके बचाइदिनु। मारिहाले भने मेरो शव नेपाल पुगोस्, मेरा परिवारले राहत र क्षतिपूर्ति पाऊन्।’ उनी खोटाङका हरिकुमार राई रहेछन्। काठमाडौँमा ‘राइडर’ सेवा दिएर परिवार धानिरहेका राई साथी र दलालको लहलहैमा लागेर २०२३ सितम्बरमा रूस गएका रहेछन्। आफूलाई खोटाङकै शैलेन्द्र राईले सात लाख रुपैयाँ लिएर रूस पठाएको उनी बताउँछन्। हरिका अनुसार शैलेन्द्रले उनीसँगै नेपाली एयरपोर्टबाटै आठजना पठाएका थिए। रूस पुगेको दोस्रो दिन नै उनी रूसी सेनामा भर्ती भए। भर्तीको भएको केही दिनमै युद्ध मैदानमा खटिएर युक्रेन पुगे। उनीसँगै १५ जना नेपालीको टोली पठाइरहेको रहेछ, तीमध्ये दुईजनाको मृत्यु भएको उनले सुनेका छन्। बाँकीमध्ये केही घाइते भएका छन्।‘युद्ध निकै भयानक रहेछ। पाइला–पाइलामा मृत्यु सम्भव छ’, हरिले सुनाए, ‘आकाशमा शत्रुको ड्रोन घुमिरहेको हुन्छ। टाउको बाहिर निकाल्नेबित्तिकै लखेट्न आइपुग्छ। कति वेला शरीरमा बम खस्छ थाहा हुन्न।’त्यो देखेपछि आत्तिएका उनको समूहका नेपाली भाग्ने कोसिसमा लागे। ६ जना भाग्ने कोसिस गर्दागर्दै समातिए। थुनामा राखेर नराम्ररी यातना दिइयो। ‘उनीहरूले भाग्ने कोसिस गरेपछि सबैलाई असर पर्‍यो। सगोलमा रहेका नेपालीहरू रूसी नागरिक रहेका समूहमा बाँडियौं। त्यसपछि एक/एक गरी राखिएको छ’, हरि भन्छन्।समूहका सबै मारिए, भाषा नजान्दा फसेत्यसपछि हरि पाँचजना रूसी नागरिकसँगको समूहमा परे। युक्रेनका ड्रोनले ती पाँचजनामध्ये चारजनालाई एकपछि अर्को गर्दै निशाना बनाउँदै लग्यो।‘मसँग अन्तिममा एकजना साथी मात्रै बच्यो। ऊ ड्रोन अपरेटर थियो। निकै मिलनसार हामी निकै घुलमिल भइसकेका थियौं’, हरिले भने। उनीहरू दुईजनाले मात्रै धेरै दिन युद्धमैदान र सेल्टरमा सँगै बिताए। उनी भन्छन्, ‘ऊ धेरै राम्ररी ड्रोन चलाउँथ्यो। सँगै अपरेशनमा जान्थ्यौं। एकअर्कालाई जोगाउन हरसम्भव प्रयास गर्थ्यौँ। धेरै दिनसम्म जोगिएर बसेका थियौं।’केही दिनअघि युक्रेनको ड्रोनले उसलाई झन्डै भेट्यो। ‘युक्रेनको ड्रोन हामीलाई देखेपछि लखेट्न थाल्यो। हामी केही समय भाग्यौं। म छलिएर जोगिएँ’, हरि भन्छन्, ‘तर उसलाई निशाना बनाएर ड्रोनले बम खसाल्यो।’ उसले बम छलेर शरीरमा बाहिरी चोट लाग्नबाट जोगियो। शरीरमा चोट नलागे पनि उ शिथिल भएको थियो। शरीर हलचलसमेत गर्न सक्दैनथ्यो। मैले भित्री चोट लागेको अनुमान लगाएँ’, हरि भन्छन्। युक्रेनको ड्रोन हिँडेपछि हरिले उसको अवस्था ‘प्लाटुन कमान्डर’लाई जानकारी दिए। अचेत अवस्थामा उसलाई बोकेर सेल्टरतर्फ अघि बढे। आधा बाटोसम्म अरू सघाउन आएका थिए।सेल्टरमा पुगेपछि कमान्डरले घाइतेको अवस्था हरिसँग सोधे। त्यही जवाफमा सिर्जना भएको गलत बुझाइको समस्याले अहिले आफूलाई ‘मार्ने’ अवस्थामा पुर्‍याएको हरिको दुखेसो छ।‘बाहिरी चोट थिएन। यसैले कमान्डरले ऊ ‘नर्मल’ (सामान्य) छ? भनेर सोधेको थियो। मैले ‘अब्नर्मल’ (असामान्य) भनेको थिएँ। मलाई रूसी नआउने! सायद मैले अब्नर्मल भनेकोलाई नर्मल मान्यो कि!’, आफ्नो अनुभव सुनाउँदै हरिले भने, ‘त्यसपछि कमान्डरले उ होसमा नआउँदासम्म १०-१० मिनेटमा हेरिराख्नु भन्यो। उपचारमा लगेन।’केही दिनअघि उ अस्मात् मृत फेला पर्‍यो। ‘मैले हेरिरहेको थिएँ। बाहिर निस्केका समय कति वेला मरेछ थाहा पाइनँ’, हरि भन्छन्। उसको मृत्युपछि कमान्डर हरिसँग बम्कियो। ‘तैले नर्मल भनेको थिइस्, कसरी मर्‍यो भनेर कमान्डर रिसायो। त्यसदेखि उसले मसँग राम्रो व्यवहार गर्न छाड्यो। खाना, पैसा केही पनि दिएको छैन’, हरिले दुखेसो पोख्दै भने, ‘जंगलमा जे भेट्यो त्यही खान्छु। कति दिन भोकै बसेको छु।’ यसैक्रममा रूसी सेनाले आफूलाई धम्क्याउन थालेको हरि बताउँछन्। ‘आपसमा रूसी भाषामा उनीहरू मलाई मार्ने कुरा गर्छन्। म बोल्न पो सक्दिनँ, बुझ्न त सक्छु’, उनले भने, ‘पाँच दिन यता त मलाई सिधै भन्छन्, तेरो हात काट्छौं, गोडामा गोली हान्छौं अनि मारेर फाल्छौं।’आफूले कमान्डरलाई भेट्न खोज्दा भेट्न नदिएको उनी बताउँछन्। ‘दिनभर सुतिरहन्छ तर भेट दिँदैन। सेटमा सिध्याइदेउ भन्छ’, हरि भन्छन्। त्यो सुनेदेखि पाँच दिनयता आफू सुत्न नसकेको उनी बताउँछन्।अहिले आफूसँग रहेका हतियार, ड्रेस खोसेर लगेको उनले सुनाए। उनले भने, ‘मेरो पासपोर्ट पनि जलाइसके। धन्न मोबाइल बाँकी राखेका छन्।’आफूलाई वेलावेलामा आएर धम्क्याउने गरेको उनी सुन्छन्। वाट्सएपमा बोलिरहँदा वेला -वेलामा रूसी भाषामा आवाज सुनिन्छ। केही बेरपछि उनले त्यो पनि धम्की रहेको जानकारी दिन्छन्।यो सम्पर्क जति वेला पनि टुट्न सक्छ। मलाई जति वेला पनि मार्न सक्छन्। मलाई मारे पनि मेरो सन्देश सबैलाई सुनाइदिनुहोला। मेरो शव नेपाल ल्याउने प्रबन्ध मिलाइदिनुहोला’, याचना गर्दै हरिले भने, ‘म नहुँदा मेरो परिवार बेसहारा बन्छ, राहत र क्षतिपूर्ति दिलाइदिन पहल गरिदिनु।’राज्यले सुन्नै चाहेन! युद्धमैदानमा पुगेका हरि आफू आबद्ध फौजले मार्ने अवस्थामा पुग्दा विक्षिप्त छन्। उनले आफ्नो विडम्बना वाट्सएपको सहाराले अभियन्ता भण्डारीलाई सुनाएका थिए। अभियन्ता भण्डारीले उनको गुनासो मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधर, परराष्ट्र मन्त्रालय, मन्त्रालयमातहतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीलगायतलाई वाट्सएपबाटै जोडेर सुनाउन चाहेकी थिइन् तर जिसीबाहेक कसैले सुनिदिएनन्।‘हामी कस्तो विडम्बनापूर्ण स्थितिमा छौं। एकातिर बेरोजगारीले तड्पिएर युवा मृत्युको भुंग्रोमा पस्न बाध्य बनाएका छौं’, अभियन्ता भण्डारी भन्छिन्, ‘अर्कातिर मर्नै लागेका ती नागरिकको चित्कार सुन्नेसम्मको संवेदना पनि हाम्रो राज्यसँग छैन, उद्धारको त परको कुरा हो!’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement