मुम्बई: आईपीएल २०२४-मा आशानुरुप प्रदर्शन गर्न नसके पनि भारतीय कप्तान रोहित शर्मा यसबारे अधिक नसोचेर गल्तीहरूमाथि काम गर्नमा ध्यान केन्द्रित गर्न चाहन्छन्। मुम्बई इण्डियन्सलाई ५ पल्ट च्याम्पियन बनाउने रोहितले जारी आईपीएल सीजनको दोस्रो चरणमा ६ वटा म्याचमा २० भन्दा अधिकको स्कोर बनाउन सकेनन्। रोहितले भने, एकजना ब्याटरको रूपमा आशानुरुप प्रदर्शन गर्न नसकेको मलाई थाहा छ तर यति सालसम्म खेलेपछि मैले यी सब कुराहरूमाथि अधिक ध्यान दिए असल प्रदर्शन गर्न नसक्ने बुझेको छु। रोहितले शुक्रवार राति लखनऊ सुपर जाइण्ट्स विरुद्ध अन्तिम लीग म्याचमा ३८ बलमा ६८ रन बनाएर टी२० वर्ल्ड कप अघि फर्म हासिल गरे। आईपीएलबाट बिदाईपछि रोहितले भने, म सकारात्मक रहने प्रयास गर्छु। मैदानमा निरन्तर अभ्यास गरेर आफ्नो गल्तीहरूलाई सच्याउने प्रयास गर्छु। हाम्रो निम्ति यो सीजन सुःखद रहेन अनि यसको निम्ति हामी नै जिम्मेवार छौं कारण हामीले धेरै गल्ती गऱ्यौ। हामीले केही जित्न पर्ने म्याचहरू गुमायौं तर आईपीएलमा यस्तै हुन्छ। भारतीय कप्तानले यसको साथमा टी२० वर्ल्ड कपको निम्ति ७० प्रतिशत टीम आईपीएल अगावै तय गरिएको बताए।











