गान्तोक: मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले आज मंगन जिल्लाका विभिन्न राजनीतिक दलका उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि साथै चुनाउको निम्ति खटिएका एजेन्टहरूलाई लिएर आज एक सभा आयोजना गरे। जिल्लापाल छेत्रीको कार्यालयमा आयोजित सभाको मुख्य उद्देश्य मतगणना प्रक्रिया, पारदर्शी साथै मतगणनाको तयारीबारे जानकारी गराउनु रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा जिल्लापाल छेत्रीले सर्वप्रथम गत १९ अप्रेलको दिन सम्पन्न भएको चुनाउमा सबै राजनीतिक दलहरूले सहयोग गरेकोमा आभार प्रकट गरे। उनले आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीबारे जानकारी गराउने उक्त दिन बिहानको ५.३० बजी स्ट्रङ रूम खोलिने भएकोले सबै राजनीतिक दलका प्रतिनिधि साथै एजेन्टहरू बिहानको ४.३० बहजी जिल्ला प्रशासनिक केन्द्रमा उपस्थित हुनुपर्ने जानकारी गराए। आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणनालाई लिएर विभिन्न राजनीतिक दलका एजेन्टहरूले आगामी २७ मईभित्रा आफ्नो परिचय पत्र सम्वन्धित निकायबाट प्राप्त गर्नुपर्ने सुझाउ दिए। मगतणनाको समयमा सबै उम्मेदवारसँगै एजेन्टहरूले परिचय पत्र लिएर मात्र काउन्टिङ हलमा प्रवेश गर्न पाउने बताए। यसका साथै जिल्लापालले इभीएम, भीभीपीएटी ह्यान्डलिङ र इलेक्ट्रोनिकली ट्रान्समिटेड पोस्टल मतपत्र प्रणालीको स्क्यानिङ प्रक्रिया सहित मतगणना टोलीको भूमिका र प्रक्रियाहरू अवगत गराए। मतगणनाको समयमा सूचना तथा जनसम्पर्क विभागले निरन्तर सूचना प्रसारण गर्ने पनि जानकारी गराए। यसै क्रममा मंगन जिल्लाका पुलिस अधिक्षक सोनम डी. भोटियाले सबै राजनीतिक दलले चुनाउको समयमा सहयोग पुऱ्याएकोमा कृतज्ञता प्रकट गरे। मतगणनाको निम्ति खटिएका सबै प्रतिनिधिहरूले आफ्नो मोबाइल फोन, ट्याबलेट काउन्टरमा छोडनु पर्ने सुझाउ दिए। जिल्लापालले सबै प्रतिनिधिहरूलाई तोकिएको समयभित्र नै हलभित्र प्रवेश गर्नुपर्ने आग्रह गरेका छन्। यस अवसरमा उनले वाहन पार्किङ लगायत सुरक्षा सम्वन्धि सबै कुराको प्रवन्धन सम्वन्धित निकायले गर्ने पनि आश्वासन दिएका छन्। मतगणना प्रक्रियालाई शान्तिपूर्वक सुचारूरूपमा सञ्चालन गर्नको निम्ति सबैले सहयोग गर्नुपर्ने आग्रह गरे। यस सभामा जङ्गु निर्वाचन क्षेत्रका महकुमा अधिकारी अरूण छेत्री, उपसचिव कर्मा शेर्पा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।











