खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा यसपाली पनि बुध्द जयन्ती पालन गरिने भएको छ। उक्त गुम्बामा यसपाली २५६७औं बुध्द जयन्ती पालन गरिने जानकारी प्राप्त भएको छ। उक्त बुध्द जयन्ती पालन गर्नलाई गुम्बाको स्थायी सञ्चालन समितिद्वारा एक अस्थायी कमिटी गठन गरेर आगामी २१ मईदेखि २३ मईसम्म तीन दिवसीय रूपमा गुम्बाको प्रमुख लामा बुम्बा डुम्जनको म्हेम्हेको अगुवाईमा बुध्द जयन्ती पालन गरिने भएको छ। उक्त तीन दिवसीय बुध्द जयन्ती अन्तर्गत पहिलो दिन २१ मईमा गुम्बाको मुख्य लामा बुम्बा डुम्जनको अगुवाईमा बिहानदेखि दोमाङ पठन र बेलुकी 5 बजेदेखि सोल्खो पूजा (महाकाल पूजा) आयोजना गरिने भएको छ। त्यसरी नै दोस्रो दिन २२ मईको दिन बिहानदेखि डोल्मा पूजा, सामुहिक पूजा अनि १०८ वटा छिमी प्रज्वलन गरिने भएको छ। बुध्द जयन्तीको तेस्रो तथा अन्तिम दिन बिहानको पूजा, दिउँसो छोई कोर, बुध्दको प्रतिमा साथै छोईहरू बोकेर नगर परिक्रमा गरिने भएको छ। यसको साथै अन्तिम दिन मुख्य लामा र उनको सहयोगीहरुद्वारा वाङ अभिषेक वितरण तथा छिमी दीप प्रज्वलन गरिने भएको जानकारी प्राप्त भएको छ। तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बाको निर्माण १९४६ सालमा बनिएको बताइएको छ। उक्त गुम्बा सञ्चालन समितिमा सभापति प्रेम योञ्जन, सचिव महेन्द्र तामाङ, कोषाध्यक्षा शान्ता तामाङ आदि रहेको भनी तीनधारेबाट नरेन बम्जनले जानकारी गराएका छन्।










