झापा: सुनसरीको गढी गाउँपालिका-२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले एक कार्यक्रमकाबीच सो बस्तीमा निर्माण भएका घर परिवारलाई हस्तान्तरण गरेकी हुन्। त्यहाँस्थित भूमिहीन दलित, आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिकाका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा घर बनाइदिएका हुन्। गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो। २०२३ जनबरी ५ मा सम्झौता भएको सो परियोजना २०२४ फरबरीमा सम्पन्न भएको हो। विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन्। गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, सङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा घरहरु निर्माण भएका हुन् ।नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म कुनैपनि परियोजना सफल हुन नसक्ने बताइन्।











