नयाँ दिल्ली: बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-ले पूर्व क्रिकेटर गौतम गम्भीरलाई टी२० वर्ल्ड कप २०२४-पछि टीम इण्डियाको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव दिएको छ। ईएसपीएनक्रिकइन्फो-को रिपोर्टमा यसबारे खुलासा गरिएको छ। वास्तवमा टी२० वर्ल्ड कपपछि मुख्य प्रशिक्षकको पदमा राहुल द्रविड़को मियाद समाप्त हुनेछ अनि उनले यस पदको निम्ति पुनः आवेदन गर्नमा रुची देखाएका छैनन्। गत वर्ष भारतमा भएको वनडे वर्ल्ड कपपछि द्रविड़को कार्यकाल टी२० वर्ल्ड कपसम्मको निम्ति बढ़ाइएको थियो। यसबीच बीसीसीआई-ले टीम इण्डियाका मुख्य प्रशिक्षक पदको निम्ति आवेदन मगाएको छ। ईएसपीएनक्रिकइन्फो-को रिपोर्ट अनुसार, बीसीसीआई-को गौतम गम्भीरले मुख्य प्रशिक्षक पद सम्हालोस् भन्ने चाहना रहेको छ। गम्भीर अहिले आईपीएल २०२४-मा कलकत्ता नाइट राइडर्स (केकेआर) टीममा मेण्टरको रूपमा काम गरिरहेका छन्। उनको मार्गदर्शनमा केकेआर आईपीएलको जारी सीजनमा प्लेअफ्-मा पुग्ने पहिलो टीम बनेको छ। यसबाहेक गम्भीरकै कप्तानीमा केकेआर-ले दुईपल्ट आईपीएल ट्रफी जितेको थियो। गत दुई वर्ष चाहिँ उनले लखनऊ सुपर जाइण्ट्समा मेण्टरको काम गरेका थिए। गम्भीरसँग अन्तर्राष्ट्रिय मञ्चको अपार अनुभव रहेको छ। उनी २००७-मा टी२० वर्ल्ड कप च्याम्पियन बन्ने अनि २०११-मा वनडे वर्ल्ड कप च्याम्पियन बन्ने भारतीय टीमका अभिन्न हिस्सा थिए।
बीसीसीआई सचिव जय शाहले हालै तीनवटा प्रारूपमा अलग-अलग प्रशिक्षक नियुक्त नगरिने स्पष्ट गरेका थिए। यसैकारण बोर्डलाई यस्ता एकजना प्रशिक्षकको खोज रहेको छ, जसले ३.५ सालसम्म भारतीय क्रिकेट टीमको जिम्मेवारी लिनेछन्। द्रविड़को कार्यकाल टी२० वर्ल्ड कपपछि समाप्त हुनेछ। बीसीसीआई-ले आवेदन गर्ने अन्तिम मिति २७ मई तोकेको छ। यस्तो स्थितिमा गम्भीरको साथमा भीभीएस लक्ष्मण र जस्टिन लेंगर जस्ता पूर्व क्रिकेटरहरूले प्रशिक्षक पदको निम्ति आवेदन गर्न सक्छन्। यसमा लक्ष्मण प्रमुख दावेदार हुनेछन् कारण ४९ वर्षीय पूर्व भारतीय क्रिकेटरले गत तीन सालदेखि एनसीए (राष्ट्रिय क्रिकेट एकाडमी)-को जिम्मेवारी सम्हालिरहेका छन्। भारत ए र अण्डर-१९ टीमले पनि उनकै मार्गदर्शनमा खेलिरहेको छ। द्रविड़को अनुपस्थितिमा उनले सीनियर टीममा पनि मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए। गत वर्ष भएको एशियन गेम्स र अष्ट्रेलिया विरुद्ध घरेलु टी२० सीरीजको साथमा ईंग्ल्याण्ड, न्यूजील्याण्ड र आयरल्याण्ड यात्रामा पनि उनले मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए। यसबाहेक आईपीएलमा लामो समयदेखि चेन्नई सुपर किंग्सका मुख्य प्रशिक्षक रहने स्टीफन फ्लेमिंग पनि टीम इण्डियाका प्रशिक्षक बन्ने मजबूत दावेदार हुन्।











