जिल्लापालले गरे विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक

photocollage_2024517222750656.jpg

गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको मतगणना प्रक्रियालाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर रूरवन कम्पलेक्समा एक बैठक आयोजना गरे। राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर बैठक आयोजना गरिनुको मुख्य उद्देश्य विधानसभाको निम्ति आगामी २ जूनको दिन हुने मतगणना प्रक्रिया सम्वन्धी जानकारी गराउनु रहेको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले मतगणनाको निम्ति खटिएका टोलीको संरचना र उनीहरूको भूमिका साथै इभीएम र भीभीपीएटीको मतगणना प्रक्रियाबारे जानकारी गराए।

उनले मतगणनाको निम्ति खटिएका एजेन्टहरुलाई कुनै पनि समस्याबाट बाँच्न तोकिएको समयभन्दा एक घण्टा अगावै डिकलिङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा आफ्नो परिचय पत्र लिएर उपस्थित हुनुपर्ने सुझाउ दिए। मतदान केन्द्रमा कुनै पनि एजेन्टहरूले मोबाइल फोनको प्रयोग गर्न नपाउने साथै बाहर जान निषेध रहेको अवगत गराए।

उनले मतगणना प्रक्रियालाई निष्पक्ष रूपमा सञ्चालन गर्न भारतीय निर्वाचन आयोगले तोकेका दिशानिर्देशहरूको पालना गर्दै सबै आवश्यक सुरक्षा उपायहरू र प्रबन्धहरू मिलाइएको सभामा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई आश्वासन दिए। यसै क्रममा पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङले चुनाउ प्रक्रियामा सबै राजनीतिक दलले सहयोग पुऱ्याएकोमा आभार प्रकट गरिन्। मतगणनाको दिन सबै राजनीतिक दलहरूले एजेन्टहरूलाई परिचय पत्र पाउनको निम्ति सम्वन्धित निकायसमक्ष सम्पर्क गरेर समयमा नै परिचय पत्र हासिल गर्नुपर्ने आग्रह गरिन्। यसै क्रममा पाकिम जिल्लाका पुलिस अतिरिक्त अधिक्षक रिञ्जिङ छोपेल राईले मतगणनाको दिन पुलिसले ट्राफिक व्यस्थासँगै वाहन पार्किङको पनि व्यवस्था गर्ने जानकारी गराए। विभिन्न राजनीतिक दलको निम्ति कार पार्किङको व्यवस्था छुट्टै गरेको पनि उनले अवगत गराए। यस बैठकमा उपस्थित सबै राजानीतिक दलका प्रतिनिधिहरूलाई मतगणना प्रक्रियालाई सुचारूपमा सञ्चालन गर्नको निम्ति सबैले सहयोग गर्नुपर्ने र यो जानकारी आफ्नो पार्टीका सहकर्मीहरूलाई पनि सुनाउनु पर्ने अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement