खरसाङ: नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव इसाईहरूका महान अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको अन्तिम यात्राको सेवाकाई आज सिलगढीमा सम्पन्न भएको छ। सिलगढीको न्यु रंगियास्थित डा. एडोन रोंगोंगको निवासस्थानमा सर्व प्रथम पारिवारिक रूपमा सेवाकाई सम्पन्न भएको थियो भने उनको पार्थिव शरीरलाई निवास स्थानबाट निकालेर सिलगढीको मतिगढ़ास्थित हिमालयन फ्रि चर्च भवनमा लगियो। उक्त चर्च भवनमा नै अपरान्हको समयमा डा एडोन रोंगोंगको अन्तिम यात्राको सेवाकाई सम्पन्न भएको थियो।

उक्त अन्तिम सेवाकाईलाई यसै चर्चको पास्टर नवीन छेत्रीद्वारा सञ्चालन गरिएको थियो भने शुरुको प्रार्थना रेभरेन्ट एसएन खालिङले गरेका थिए। त्यसरी नै बाईबल पाठ पास्टर तिरस राईलो गरेका थिए। यस सेवामा डा. एडोन रोंगोंग विषयमा रेभरेन्ट आनन्द राई, रेभेरेन्ट प्रकाश सुब्बा, रेभरेन्ट दयारत्न प्रधान, रेभरेन्ट हनोक तामाङ, रेभरेन्ट जोशवा प्रधान र वरिष्ठ साहित्यकार एंव रेभरेन्ट सलोन कार्थक आदिले वक्तव्य राखेका थिए। यस सेवामा बाईबलबाट शान्तावनाको वचन काठमाण्डौंबाट आएका डा. मंगलमान महर्जनले राखेका थिए। त्यसरी नै एकता परिवारको पक्षबाट विशेष गीत प्रस्तुत गरिएको थियो भने वरिष्ठ गायक जर्ज पेगाले पनि विशेष गीत प्रस्तुत गरेका थिए। यस सेवामा धन्यवाद परिवार पक्षबाट एल्डर पावल रोंगोंगद्वारा गरिएको थियो भने अन्तिम प्रार्थना रेभरेन्ट आमोस भोटियाले राखेका थिए। उक्त अन्तिम यात्राको सेवाकाईपछि डा. एडोन रोंगोंगको पार्थिव शरीरलाई सिलगढीको कावाखालीमा रहेको कबरस्थानमा दफ्नाउनलाई लगिएको थियो।

उक्त नयाँ कबरस्थानमा अहिलेसम्म कसैको पार्थिव शरीरलाई राखिएको थिएन भने डा एडोन रोंगोंगको पार्थिव शरीरलाई राखेर शुरुवात गरिएको जानकारी प्राप्त भएको छ। उनको दफ्नाइने कार्यक्रमलाई जेम्स तामाङले सञ्चालन गरेका थिए भने बाईबलको वचन रेभरेन्ट जेम्स योञ्जनले राखेका थिए। यसमा अन्तिम प्रार्थना पनि रेभरेन्ट जेम्स योञ्जनले नै गरेका थिए। यस अन्तिम यात्राको सेवाकाईमा पहाड़ तराई डुवर्स, सिक्किम, नेपाल लगायत विभिन्न स्थानहरूबाट साहित्य, समाज, ईसाई जगतका वरिष्ठ व्यक्तिहरू विशेष रूपमा उपस्थित रहेका थिए। सबैले आफ्नो गुरु, आफ्नो अगुवा, आफ्नो सर र आफ्नो प्रिय र आदरनीय व्यक्तिलाई अन्तिम बिदाई दिएका थिए। उपस्थित सबैले आफ्नो आदरनीय र पुज्यनीय व्यक्तिलाई शारीरिक रूपमा बिदा दिए पनि आत्मिक रूपमा एकदिन भेट्ने आशाको साथमा बिदा दिइएको बताइएको छ। आजदेखि डा. एडोन रोंगोंगको पार्थिव शरीर माटोमा मिले पनि उनले विभिन्न क्षेत्रहरूमा दिएको विशेष योगदानहरू अजम्बरी रहनेछन्। डा. एडोन रोंगोंग शरीरमा नरहे पनि उनको कामहरू र योगदानहरू सदैव सबैको मानस पटलमा सदैव रहिरहनेछन्। यस क्रममा पत्रकारहरूसित कुराकानी गर्दै डा. एडोन रोंगोंग विषयमा एकता बुक्स हाउसको प्रमुख रामचन्द्र तिमोथी, विशप डा. पिटर ब्लेन लेप्चा, डा. चित्र छेत्री कौशिक, किशोर त्रिखत्री र पास्टर शरण शरदले विस्तृत रूपमा जानकारी गराएका छन्। उनीहरूले डा. एडोन रोंगोंग विषयमा आफ्नो प्रतिक्रिया दिन्दै उनले विभिन्न विधा र विभिन्न क्षेत्रहरूमा दिएको विशेष योगदानको विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्।