एक सप्ताहको लागि स्कूल बन्द गर्दै अनलाइन पढाई गरिने
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको सिलिङ झरेर एकजना शिक्षिका घाइते बनेको विषयलाई लिएर आज स्कूल सञ्चालन समितिको आपतकालीन सभा बसेर स्कूल एक सप्ताहको लागि बन्द राखेर अब अनलाइन पढाई गरिने गरिएको छ। उक्त घटनामा घाइते बनेकी शिक्षिकालाई उपचारको लागि आज सिलगढी लगिएको जानकारी प्राप्त भएको छ। आज तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको स्कूल सञ्चालन समितिको सभा समितिको पदाधिकारीहरू र स्कूलकी प्रधान अध्यापिका र शिक्षिकाहरूका उपस्थितिमा सम्पन्न भएको छ। उक्त सभामा निर्णय गरिए अनुसार विद्यार्थीहरू नानीहरूलाई एक हप्ताको छुट्टी दिएर आगामी सोमबारदेखि एक सप्ताहको लागि अनलाइन क्लास गराइने र यो छुट्टीको समयमा नै अभिभावकहरूलाई पनि बोलाएर सभा गरेर सामुहिक रूपमा हस्ताक्षर गरेर स्कूलको नयाँ भवन निर्माणको लागि सम्बन्धित विभागमा बुझाउने निर्णय गरिएको छ। एक सप्ताहपछि विद्यार्थीहरूलाई नजिकैमा रहेको अर्को बिल्डिङलाई अस्थायी रूपमा पढाउने व्यवस्था गरिने र नयाँ बिल्डिङको निर्माणको लागि सम्बन्धित विभागमा निवेदन गर्ने बताइएको छ। बिहीबार भएको घटनामा घाइते बनेकी शिक्षिकालाई हिजो नै तीनधारे रेलवे अस्पतालमा प्राथमिक उपचारपछि डाक्टरको सुझावमा टाउकोमा रहेको चोटलाई लिएर सिलगढीमा उपचारको लागि लगिएको बताइएको छ। स्कूल सञ्चालन समितिको सभामा सञ्चालन समितिको सभापति एंव पूर्व प्रधान अध्यापिका मार्थारानी राई, सचिव मनोज तामाङ, अभिभावकको तर्फबाट रञ्जित सार्की, बिदुर लामा, रामबहादुर थापा, प्रधान अध्यापिका रोजीरानी राई मुखिया, शिक्षिकाहरू क्रमैले संगीता प्रधान, उर्मिला लामा, रमिना प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको स्थापना १९५० सालमा भएको थियो भने यस बिल्डिङको निर्माण १९८८ पछि सुरु भएर १९९३ मा पूरा भएको बताइएको छ भने २०११ र २०१५ को भूकम्पले यस स्कूल बिल्डिङलाई निक्कै प्रभावित बनाएको थियो भने स्कूल पक्षबाट लगातार रूपमा नयाँ स्कूल भवनको निर्माण कार्यको लागि निवेदन गर्दै आएको तर अहिलेसम्म नापजोख भएर पनि निर्माण नभएको गुनासो रहेको छ। यस विद्यालयमा छात्राहरूलाई लिएर पाँचौदेखि बाह्रौं श्रेणीसम्मको पढाई गरिरहेको छ। अहिले यो घटनाले शिक्षिकाहरू र विद्यार्थीहरूमा डरको माहोल भएको बताइएको छ। यस स्कूलको नयाँ भवन निर्माणको लागि पूर्व प्रधान अध्यापिका मार्थारानी राईको पालोमा धेरैपटक सम्बन्धित विभागमा धेरै निवेदनहरू गरिएको साथै हालही प्रधान अध्यापिका रोजीरानी राई मुखियाको पालोमा पनि लगातार रूपमा नयाँ भवनको निर्माणको लागि साथै वर्तमान भवनको अवस्था विषयमा निवेदन सम्बन्धित विभाग गर्दै आएको बताइएको छ।

यस क्रममा गत १० अप्रेलमा स्कूलको सिलिङ झरेको घटनालाई लिएर पनि सम्बन्धित विभागमा जानकारी गराइएको तर कुनै कार्य नभएको साथै बिहीबार पनि यो घटनाले गर्दा एकजना शिक्षिका घाइते बनेकी हुन्। स्कूलको घटनालाई लिएर सभा बसेपछि स्कूल सञ्चालन समितिको सभापति एंव पूर्व प्रधान अध्यापिका मार्थारानी राई, सञ्चालन समितिको सचिव मनोज तामाङ, वर्तमान प्रधान अध्यापिका रोजीरानी राई र एकजना अभिभावक बिदुर लामाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।