राजधानीमा पालन गरियो ४९औं राज्य दिवस

IMG-20240516-WA0242.jpg

सिक्किम भारतको अभिन्न अङ्ग बनेपछि उल्लेखनीय विकास भएको छः राज्यपाल

गान्तोक: सिक्किम भारतको २२औं राज्य बनेको आज ४९औं वर्षको अवसरमा राज्य दिवस पालन गरियो। राजधानीस्थित चिन्तन भवनमा आयोजित एक कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने मुख्यमन्त्री प्रेम सिंह तामाङ विशिष्ठ अतिथिकोरूपमा रहेका थिए। यस अवसरमा सर्वप्रथम पद्म विभूषण पुरस्कारले सम्मानित एवम पहिलो मुख्यमन्त्री एलडी काजीको प्रतिमामा राज्यपाल र मुख्यमन्त्रीले माल्याअर्पण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम भारतको २२औ राज्यको रूपमा अन्तर्भूक्त भएको ४९औं वर्षको शुभअवसरमा राज्यबासीलाई बधाई साथै शुभकामना दिएका छन्। सिक्किम भारतमा विलय भएपछि यता सिक्किमले विभिन्न क्षेत्रमा प्रगति गर्नको साथै राज्यमा सबै क्षेत्रमा विकास भएको बताए।

सिक्किमको समृद्ध इतिहासलाई प्रतिबिम्बित गर्दै, राज्यपालले राज्यको लचिलोपन र विगतका वर्षहरूमा भएको विकासलाई जोड दिँदै यसका विविध पक्षहरूबारे जानकारी गराए। उनले विभिन्न क्षेत्रहरूमा सिक्किमले गरेको विकासबारे पनि प्रकाश पार्दै सरकारले हासिल गरेको उपलब्धि र प्रगतिलाई प्रतिबिम्बित गर्न राज्य दिवस मनाउने महत्त्वपूर्ण अवसर पाएको बताए। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नो सम्बोधनमा सिक्किम राज्यले छोटो अवधिमा गरेको प्रगतिलाई भारतको सबैभन्दा प्रगतिशील राज्यको रूपमा चिन्हित गरेको प्रकाश पार्दै उद्यमशीलता विकास, कृषि, पर्यटन र अन्य क्षेत्रहरूमा विकास भएको जानकारी गराए। राज्य सरकारले शुरू गरेको “मेरो रुख मेरो सन्ताति” जस्ता योजना र महिला केन्द्रित पहलहरू सहित अभूतपूर्व विकासलाई अघि बढाउन राज्य सरकारले गरेका विभिन्न पहलहरूबारे अवगत गराए। उनले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा दिँदै सरकारले शुरू गरेको विभिन्नि प्रकारको नीतिको चर्चा गरे। मुख्यमन्त्रीले राज्यले हासिल गरेका विभिन्न उपलब्धिहरूका लागि सरकारी कर्मचारीहरू, पूर्व राजनीतिक व्यक्तित्वहरू, नोकरशाहहरू र सिक्किमका जनताको समर्पण, समर्थन र प्रतिबद्धताको लागि कृतज्ञता व्यक्त गरे। आगामी २०२५ मा सिक्किम राज्य भारतमा विलय भएको ४०औं वर्षगाँठ अर्थात स्वर्ण जयन्ती भव्यरूपमा पालन गरिने भएकोले सबैले आफ्नो तर्फबाट योगदान पुऱ्याउनु पर्ने आग्रह गरे। सोही प्रकारले राज्यका मुख्य सचिव भीबी पाठकले ४९औं राज्य दिवस पालन गरिनुको महत्वबारे प्रकाश पार्दै राज्य दिवसको उत्सवलाई सिक्किमका जनताको अद्वितीय पहिचानको उत्सव र प्रतिबिम्बको क्षणको रूपमा लिनु पर्ने कुरामा जोड दिए। उनले सिक्किमका विभिन्न समुदायहरू बीचको सद्भावले शान्ति र शान्तिको भूमिको रूपमा प्रतिष्ठामा योगदान पुर्‍याउँने गरेको बताए।

यसबाहेक, उनले सिक्किमको भारतको सबैभन्दा युवा राज्यहरू मध्ये एक भए पनि विभिन्न क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको पनि प्रकाश पारे। राज्यले गरेको यो प्रगतिले आर्थिक समावेशीता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा, अर्गानिक खेती, पर्यटन, साथै महिला र युवा विकासलाई समेटने गरेको बताए। यस अवसरमा राज भवनद्वारा प्रकाशित हाम्रो संकल्प, विकसित भारत, पुष्पित सिक्किम नामक पुस्तकको पनि बिमोचन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement