खरसाङ: वरिष्ठ साहित्यकार एंव इसाईहरूका वरिष्ठ अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको निधनमा भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमद्वारा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमको मुख्य सल्लाहकार रहेका डा एडोन रोंगोंगको निधन बुधबार बिहान सिलगढीस्थित निवासस्थानमा बिहान भएको थियो। उनको निधन भएको दिन पनि स्रष्टा सङ्गमको केही पदाधिकारीहरू घरमै पुगेर श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका थिए। स्रष्टा सङ्गमको पक्षमा मुख्य सल्लाहकार रेभरेन्ट डा. छत्र सुब्बा पावलले एक विज्ञप्ति जारी गर्दै डा. एडोन रोंगोंग भव्य व्यक्तित्व, सौम्य चरित्र, मिलनसार स्वभाव, सहयोगी मन, नबिझाउने विचार, गतिलो दर्शन, गहन भाव, जाँगरको खानी, वास्ताको धनी, साहित्यको पहाड, सेवकाईको फाँट, यस्तै अरू पनि धेरै थिए भनी बताएका छन्। उनले डा. एडोन रोंगोंग विषयमा बोल्दै भने, ‘मैले उहाँलाई सन् १९७६-७७ भित्र नेपालको लुम्बिनी अञ्चलको बुटवलमा भेटेको थिएँ जुनबेला म भर्खर इसाई भएको थिएँ अनि तिनताक ‘अटोग्राफ’ राख्ने चलन चलेको थियो। यतिबेला इसाई अगुवा भन्ने बारेमा मलाई केही थाहा थिएन अनि उहाँ किन आउनु भएको थियो त्यो पनि खासै थाह भएन। तर उहाँ एक असल साहित्यकार हुन् भनेर चिनेको थिएँ। तेतिबेला मैले उहाँलाई पनि अटोग्राफमा लेखिदिनोस् भनेर बिन्ती गर्दा उहाँले त्यो पन्नाभरि ‘छत्र!’ भनेर लेख्नु भएको थियो। यसबाट चाल पाइन्छ उहाँको मनको साइज! पछिबाट चाल पाएँ उहाँ र गायस राई दाजु क्याम्पस क्रुसेडको एल.टि.आई. तालिम दिन आउनुभएको रहेछ।”
स्रष्टा सङ्गमको मुख्य सल्लाहकार, मिस्पा सेन्टरको निर्देशक एंव हाम्रो संकल्प पत्रिकाको सम्पादक डा. छत्र सुब्बा पावलले अघि भने, ‘धेरै धन कमाउनु भएन होला, तर उहाँले अति सुन्दर परिवार, ख्याल राख्ने मित्रहरू अनि कसैले मेटेर मेट्न नसकिने प्रशस्त मान, सम्मान र इज्जतहरू कमाउनुभएको छ। यतिबेला उहाँ आफूले मरून्जेल सेवा गर्नुभएको परमप्रभुको घरमा जानुभएको छ। उहाँलाई सश्रद्धा बिदाई अनि उहाँको धर्मपत्नी भाउजु मन्नु रोंगोंग, तीन छोरीहरू, र सम्पूर्ण शाखा-सन्तानहरूलाई परमप्रभुबाट नै मनभित्रको सान्त्वना मिलेको होस्।’
त्यसरी नै स्रष्टा सङ्गमको मूल सचिव पास्टर शरण शरदले स्रष्टा सङ्गमको पक्षमा डा एडोन रोंगोंगमाथि श्रध्दाञ्जली अर्पण गर्दै भने, ‘डा. एडाेन राेंगाेंङलाई अब कहिल्यै पाेल्दैन, दुख्दैन, अनि मर्नु पर्नै कारण नमर्ने नामहरुमध्ये एक नाम हाे” एडाेन।’
उनले अघि भने, उहाँकाे मृत्यु भारतीय नेपाली स्रष्टाहरुको मञ्च अर्थात् स्रष्टा संगमलाई ठूलाे क्षति पुगेकाे छ कारण उनी एक व्यक्ति अनेकाैं व्याक्तित्व हुन्। उनी एक लेखक, सम्पादक, साहित्यकार, समालोचक, पास्टर, अगुवा तथा अगुवा मात्रै नभएर स्रष्टा संगमका संस्थापक सल्लाहकार पनि थिए। उनीबिना याे समूह टुहुराे भएकाे जस्तो अनुभव भईरहेछ। उहाँकाे मुत्यु हुनु नै एक युगकाे अन्त्य हुनु हाे। अब सर एडाेन मरेर पनि बाँचिरहनेछन् सधैंभरि। उनीभन्दा बढ्ता बाच्नेछ उनको कृतिहरु।”
स्रष्टा सङ्गमको सचिव शरण शरदले अझ भने, ‘हाम्रो यस लेखकहरुकाे संगठनलाई अब रहल अग्रजहरुकाे मार्ग दर्शनमा अगाडी बडाएर लैजाने ठूलाे जिम्मेवारी हामीलाई परेकाे छ। तब एकदिन हामीलाई लाग्नेछ उनले शुरु गर्नु भएकाे असल कार्य हामीले नयाँ पिँढीकाे हातमा सुम्पेर सुसमाचार अनि साहित्य दुवैलाई बचाउने कार्य पूरा गरिरहेका थिएछाैं। यस शारीरिक बियाेग शहन गर्ने शक्ति परमेश्वरले परिवारलाई दिउन् भन्ने आँशुसहितकाे प्राथर्ना र शोकित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’










