साहित्यकार एडोन रोंगोंङको निधनमा सिलगडी नेपाली साहित्य संस्थानद्वारा शोक प्रकट

IMG-20240516-WA0236.jpg

खरसाङ: वरिष्ठ साहित्यकार, समाजसेवी एवम् सिलगडी नेपाली साहित्य संस्थानका संरक्षक रेभरेन्ट एडोन रोंगोंगको निधनमा नेपाली साहित्य संस्थानका सदस्यहरूले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक संवेदना व्यक्त गरेको छ। संस्थानका संरक्षक प्रोफेसर घनश्याम नेपाल, साहित्यकार बिर्ख खड्ग डुवर्सेली अनि डा. रिन्जी इडेन वाङ्दी लगायत संस्थानका सदस्य डा रेमिका थापा, महासचिव डा. डपछिरिङ लेप्चा, सहसचिव डा भूपेन तामाङ, उपाध्यक्ष सरिता शर्मा साथै संस्थानका सम्पूर्ण सदस्यहरू रोंगोंगको निवास स्थानमा पुगेर श्रध्दाञ्जली अर्पण गरेका थिए। रोंगोंगको निधनले सिलगडी नेपाली साहित्य संस्थानलाई अपूर्ण क्षति भएको छ। रोंगोंग संस्थानमा धेरै वर्षदेखि संलग्न थिए भने संस्थानलाई उनले अतुलनीय योगदान पनि गरेका थिए। बुधबार बिहान उनको निधन भएको खबरले सिलगडी नेपाली साहित्य संस्थान एकजना वरिष्ठ संरक्षकलाई गुमाउनु परेको दुःखले शोकाकुल बन्न पुगेको हो। रोंगोंगले संस्थानलाई दिएको माया र योगदानलाई कहिल्यै बिर्सिन सक्ने छैन भनी बताइएको छ।
स्मरण रहोस्, एडोन रोंगोंग भारतेली नेपाली साहित्यमा एकजना स्थापित सर्जक थिए भने ईसाइ जगत्‌का वरिष्ठ व्यक्ति तथा तिनका अगुवाहरूका वरिष्ठ अगुवा थिए। १७ अप्रेल १९४० मा दार्जिलिङको छोटा मङ्गुवा बस्ती, तकदाह तीनचुलेमा जन्मेका साहित्यकार रोंगोंग सफल आख्यानकार, कवि, बालसर्जक साथै वरिष्ठ पत्रकार थिए। दार्जिलिङ सरकारी महाविद्यालयबाट तिनताक स्नातक तहको परीक्षा उर्तीण गरी काठमाडौँ इन्टरनेशनल युनिभर्सिटीबाट मानार्थ डाक्टर इन मिनिष्ट्री प्राप्त गर्ने रोंगोंगका ‘विपना हार’ (सन् १९६५), ‘चोइटा’ (सन् १९७०), ‘एकान्तभित्रको स्वतन्त्रतातिर’ (सन् २०१०) आदि कथासङ्ग्रह, ‘हारभित्रको जीत’ (सन् १९६७) रूपान्तरित उपन्यास, ‘साना ठुला ताराहरू’ (सन् १९७०), ‘मायाका फूलहरू’ (सन् २००३) आदि बाल कथासङ्ग्रह, ‘नेपाली बाल गीतमाला’ (सन् १९९१) बाल कवितासङ्ग्रह, ‘यत्न प्रयत्नहरू’ (सन् २०००) लेखसङ्ग्रह, ‘रूख यो सडकमास्तिरको’ (सन् २०१४) कवितासङ्ग्रह साथै ‘वचनको साथमा हामी’ (नेपाली बाइबलको ऐतिहासिक झलक २०१४) साथै तिनताक दार्जिलिङबाट १९६० को दशकमा सम्पादित ‘आँखा’, ‘दीयो’, ‘हेर ती नयाँ भइसके’, ‘विभावना’ अनि ‘अजम्बरी गङ्गाप्रसाद प्रधान स्रष्टाहरूको दृष्टिमा’ (सन् २०१२) आदि पत्रपत्रिका एवम् ग्रन्थादि सम्पादित र प्रकाशित छन्। रोंगोंग नेपाली साहित्य र समाजलाई आफ्नो जीवनभरि निस्वार्थ रूपले पुर्‍याएको योगदानको सम्मानमा शरीर छँदा नै ‘डा एडोन रोंगोंग अभिनन्दन ग्रन्थ’ ले विभूषित हुने भाग्यशाली व्यक्तित्व हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement