काठमाडौं: उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल शुरु गरेको छ। बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आईसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। ‘हामीले सन्दीपको निलम्बन फुकुवा गरिसकेपछि उनलाई विश्वकपमा कसरी सहभागी गराउन सकिन्छ भनेर लागिरहेका छौं। यसका लागि आईसीसीसँग अनुमति माग्न पत्र पठाउनेबारे छलफल भइरहेको छ। उनको फिटनेस टेस्ट पनि हुँदैछ। केही दिन भित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउँछौं’, उनले भनेl
नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। रोहितकुमार पौडलको कप्तानीमा रहेको टोली अहिले अमेरिकामा अभ्यास खेलहरु खेलिरहेको छ। स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो। १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन्। अनुभवी सोमपाल कामी र करण केसी पहिलो रोजाइका बलर हुन्। १० जना रिजर्भ खेलाडी समेत अमेरिका पठाइसकेको नेपालले सन्दीपलाई टोलीमा समावेश गर्न एक जना आउट गर्नुपर्ने हुन्छ। कसलाई बाहिर गर्ने भन्नेबारे कोच र कप्तानसहितले निर्णय गर्ने चन्दले बताए।











