डोह ङाग छोई खोर्लिङ गुम्बामा छतर पूजाको बैठक सम्पन्न

6c1a5e3e-3cba-4e44-8985-fb78f848c068

सिलगढी: डोह ङाग छोई खोर्लिङ गुम्बामा २५६८बुद्धज्यन्तिको तयारी युद्ध स्तरमा चलिरहेको छ। आगामी २३ मईको दिन सम्पन्न हुने बुद्ध जयन्ती पालन समारोहलाई लिएर सिलगढी बुद्धिस्ट एसोसिएसन अनि बुद्धज्यन्ति पालन कमिटिको बैठकहरू निरन्तर रूपमा भइरहेको एसोसिएसनको अध्यक्ष डीबी योञ्जनले जानकारी दिएका छन्। गत ११ मईको दिन बुद्ध जयन्ती पालन कमिटीको बैठक सम्पन्न भएको थियो। कमिटी अध्यक्ष गोपाल लामाको अध्यक्षमा सम्पन्न भएको सो बैठकमा अध्यक्ष डीबी योञ्जन, उपाध्यक्ष विष्णु लामा, सचिव एमके लामा, पीटी योञ्जन, सहसचिव पृथ्वीराज ग्याबक, कोषाध्यक्ष किशोर लामा लगायत कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो।  बैठकले बुद्ध जयन्ती पालन समारोह सँगसँगै आयुबारेको पनि आयोजना गर्ने बारे निर्णय लिएको छ।

३ जूनको दिन भव्य रूपमा धार्मिक अनुष्ठानको आयोजना गरेर ‘छेतर पूजा’ अर्थात् आयु पूजाको गरिने छ। अध्यक्ष डीबी योञ्जनले भने, ‘बौद्ध धर्म परम्परा अनुसार छतर पूजालाई महान् मानिन्छ। यसैले ३ जूनको दिन हामीले गजलडोबा नदी किनारमा यस पूजाको आयोजना गरेका छौँ। हाम्रो धार्मिक परम्परा अनुसार नदीमा माछा दान गरेर आयु पूजा गर्नेछौँ।‘ उक्त दिन सिलगढी बुद्धिस्ट एसोसिएसनको अगुवाइमा गुरुङ बस्तीको डोह नाङ छोइ खोर्लिङ गुम्बाबाट धर्मगुरु, लामा, भक्तजन साथै आयु पूजामा सामेल हुनेहरू बिहानै गजलडोबा प्रस्थान हुने पनि उनले थप जानकारी दिएका छन्। यस पूजामा भाग लिन चाहने भक्तजनहरूले गुम्बा कमिटीसँग सम्पर्क गरिदिने उनले अनुरोध गरेका छन्। २० मई देखि २३ मईसम्म विविध पुजापाठ गर्दै गुरुङ नगरमा अवस्थित डोह ङाग छोई खोर्लिङ गुम्बामा यस वर्ष पछि भव्यतासाथ २५६८औँ बुद्ध जयन्ती पालन गरिनेछ। अध्यक्ष योञ्जन भने, ‘हामीले प्रत्येक वर्ष नै धूमधामसँग बुद्ध जयन्ती पालन गर्दै आइरहेका छौँ। भक्तजन साथै टाढा टाढाबाट आएका श्रद्धालुहरूलाई सुविधा प्रदान गर्न यस चोटि पनि गुम्बा कमिटीले भएभरको व्यवस्थाहरू गर्नेछ। बुद्ध जयन्ती हामी बौद्ध धर्मीहरूको महान् पर्व हो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement