विभागीय अधिकारीहरूद्वारा निरीक्षण भ्रमण
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आज स्कूल लागेको समय अचानक स्कूलको स्टाफ रूमको सिलिङको सिमेन्टहरू झरेर एकजना शिक्षिका घाइते बनेकी छन्। आज दिउँसो तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा स्कूल सञ्चालन भईरहेको समयमा स्कूलकी एकजना शिक्षिका स्टाफ रूममा बसेर विद्यार्थीहरूका कपिहरू चेक गरिरहेको समय अचानक माथिबाट सिलिङको सिमेन्टका टुक्राहरू झरेर शिक्षिकाको टाउको, ढाड़ र हातमा लागेर घाइते बनेकी छन्।

तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा योभन्दा पहिला पनि १० अप्रेलको दिन यसरी नै श्रेणी कोठाको सिलिङ झरेको र यस विषयमा ११ अप्रेलको दिन नै दार्जिलिङ पुगेर सम्बन्धित विभागमा पत्रचार गरिएको स्कूल पक्षबाट बताइएको छ। आज यस स्कूलमा दोस्रोपल्ट यसरी झरेको र आज एकजना शिक्षिका नै घाइते बनेकोले घटना निक्कै गम्भीर मानिएको छ। स्कूलमा भएको उक्त घटनापछि घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, खरसाङकी सहायक स्कूल निरीक्षक रोशनी सार्की, दार्जिलिङबाट विभागीय अधिकारी लगायत अभियन्ताद्वारा पनि घटनाको निरीक्षण गरेर रिपोर्ट लगेको जानकारी प्राप्त भएको छ।

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पाँचौंदेखि बाह्रौं श्रेणीसम्मको कक्षाहरू सञ्चालनमा रहेका छन् भने यस स्कूलले लगातार रूपमा माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्कृष्ट परिणाम पनि प्राप्त गर्दै आएका छन्। तर स्कूल बिल्डिङ पुरानो भएको साथै भूकम्पले निक्कै क्षति गरेको यस स्कूल बिल्डिङको नवीनीकरण गरिन आवश्यक देखिएको छ। स्कूलको हरेक श्रेणी कोठाहरू चर्किएको र भत्किएको अवस्थामा रहेको छ। अाज स्कूलकी शिक्षिका घाइते बनेकी छन् भने शिक्षिकाको स्थानमा विद्यार्थीहरू भएको भए झन जोखिमपूर्ण हुने बताइएको छ। आजको घटना विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका रोजीरानी राई मुखियाले आज स्कूलमा भएको घटनालो हामीलाई दुःखित र भयभीत बनाएको बताएकी छन्। उनले योभन्दा पहिला पनि १० अप्रेलमा यस्तै घटना हुँदा ११ अप्रेलको दिन दार्जिलिङ गएर सम्बन्धित विभागमा पत्रचार गरेको तर कुनै मरमत्ति र केही नभएकोले गर्दा आज पुन: घटना घट्यो अनि एकजना शिक्षिका स्टाफ रूममा बसेर विद्यार्थीहरूका कपिहरू चेक गरिरहेको समय सिलिङ झरेर टाउको, हात र ढाड़मा लागेर घाइते बनेकी जानकारी गराएकी छन्। उनले आजको घटनाले हामीलाई अझ जोखिमपूर्ण लागेको छ र यस विषयमा सम्बन्धित विभागले झट्टै पहल गरिदिएको होस् भनी आशा राखिएको जानकारी गराइन्। त्यसरी नै एकजना शिक्षिकाले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो स्कूल तीनधारेमा पुरानो स्कूल हो र यो बिल्डिङ पनि ३०-३५ वर्ष भएकोले बिल्डिङ मरमत्ति मात्रै होइन तर बिल्डिङ नै नवीनीकरण गरिनु पर्ने आवश्यकता रहेको बताएकी छन्।

उनले स्कूलको हरेक श्रेणी कोठाहरू चर्किएको र भत्किएको अवस्थामा रहेको साथै विद्यार्थीहरूलाई राखेर पढाउनु निक्कै जोखिमपूर्ण रहेको जानकारी गराएकी छन्। उनले आजको घटनाले हामी चाढ़ै न्याय पाउँछौं होला भन्दै यस्तो घटना अब पुन: दोहोरिन्दैन होला भन्ने आशा रहेको बताइन्। यस क्रममा अर्की सिनियर शिक्षिकाले पनि पत्रकारहरूसित कुराकानी गर्दै स्कूल नै पूर्ण जीर्णावस्थामा छ र सम्बन्धित विभागमा निवेदन छ कि स्कूलको यो अवस्था चाढ़ै सुधार गर्न अनुरोध छ भनी बताइन्। उनले यस घटनाले अझ डर बढेको र पढाईरहेको समय धेरै डर हुने हुनाले मीडियामार्फत् हामी अनुरोध गर्न चाहान्छौं कि हाम्रो स्कूलको यो अवस्था सुधार भएको होस् भनी जनाइन्।











