गुवाहटी: आईपीएल २०२४-को ६५औं म्याचमा पञ्जाब किंग्सले शक्तिशाली राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गऱ्यो। प्लेअफ्-को रेसबाट धेरै अघि बाहिर हुने पञ्जाबको टीमलाई यस जीतले कुनै फरक नपरे पनि राजस्थान रोयल्सको मनोबललाई चाहिँ ठूलो धक्का लाग्यो। सीजनको पहिलो ९ वटा म्याचमा ८ वटा जितेर प्लेअफ्-को संघारमा पुग्ने रोयल्सको टीमले अन्तिम ४ वटा म्याचमा हारको सामना गर्नु परेको छ अनि टीम अहिले पनि प्लेअफ्-मा पुगेको छैन। म्याच जितेपछि पञ्जाब किंग्सका कप्तान सेम कुरेनले भने, आज बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। बलरहरूका एकजुट प्रदर्शनले हामीलाई फाइदा भयो। आफ्नो प्रदर्शनमा हामीलाई गर्व छ। एक पूरा टीमको प्रदर्शन असाधारण रह्यो। हामीले यस पूरा सीजनको मजा लियौ। मैले कप्तानीको आनन्द लिए तर यस प्रकारले बाहिर हुनु निराशाजनक रह्यो। अन्तिम म्याच जित्न सके हाम्रो १२ पोइण्ट्स हुनेछ तर त्यसले प्लेअफ्-मा पुग्ने छैनौं। आउँदो केही सीजनमा असल खेलाड़ीहरू राख्न सके यसभन्दा राम्रो परिणाम हासिल गर्न सकिनेछ।
म्याचको कुरा गर्दा गुवाहटीको बारसापारा स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। ब्याटरहरूका चरण असफलताबीच लोकल बोय रियान परागले सर्वाधिक ४८ रन बनाएर टीमको सम्मान बचाए। परागले ३४ बल खेलेर ६ वटा चौका लगाए। यसबाहेक रविचन्द्रन अश्विनले २८ रनको योगदान दिए। शीर्ष क्रममा यशस्वी जयसवालले ४, कप्तान सञ्जु सेमसनले १८ र रोवम्यान पावेलले ४ रन मात्र बनाउन सके। पञ्जाबका बलरहरूमा कुरेन, हर्षल पटेल र राहुल चाहरले २-२ विकेट लिए। त्यसपछि पञ्जाबले १८.५ ओभरमै ५ विकेट गुमाएर १४५ रनको लक्ष्य हासिल गऱ्यो। पञ्जाबले पनि एक समय ४८ रनमै ४ विकेट गुमाएको थियो तर कप्तान कुरेनले अविजित ६३ रन बनाएर टीमलाई जीत दिलाए। कुरेनले ४१ बल खेलेर ५ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक जितेश शर्माले २२ र अशुतोष शर्माले अविजित १७ रन बनाए।