४८ वर्षमा सिक्किमले शान्ति श्रृंखला कायम गरेर देशभक्तिको सर्वोत्तम उदाहरण पेश गरेको छ: भाजपा

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाई ५०औं राज्य दिवसको अवसरमा सम्पूर्ण सिक्किमवासीमा हार्दिक शुभकामना व्यक्त गर्दै राज्यको सुख-शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

प्रदेश भाजपाले आज जारी आफ्नो सन्देशमा भनेको छ, ‘१६ मई, १९७५ मा आजकै दिन सिक्किम वैधानिक रूपमा भारतीय गणतन्त्रमा २२औं राज्यको रूपमा विलय भएपछि विश्वकै सर्ववृहत गणतान्त्रिक देशमा ४९ वर्षको प्रजातान्त्रिक यात्रा पूरा गरेर स्वर्णजयन्ती वर्षमा प्रवेश गरेको छ। विगत ४९ वर्षको यात्रामा सिक्किमले भारतको राष्ट्रिय मूलधारामा सामेल भएर देशको प्रजातान्त्रिक मूल्य र मान्यतालाई शीरोपर गर्दै सर्वाङ्गीण विकासको लामो खुड्किलो पार गरिसकेको छ भने सिक्किमवासीले पनि आफ्नो अस्तित्व र सांस्कृतिक मूल्य-मान्यतालाई कायम राख्दै देशको संवैधानिक अधिकारहरूको उपभोग गर्नका साथै संवैधानिक कर्तव्यलाई पनि कटिबद्धताका साथ पालन गर्दै आएका छन्। तीनवटा छिमेकी राष्ट्रहरूले घेरिएको सिक्किम राज्यले विगत ४८ वर्षमा शान्ति श्रृंखला कायम गरेर देशभक्तिको सर्वोत्तम उदाहरण पेश गर्दै राज्यको भौतिक विकासकार्यलाई अघि बढ़ाइरहेको छ।’

देशले पनि सिक्किमको निम्ति संवैधानिक, सांस्कृतिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। प्रदेश भाजपाले भनेको छ, हिमाली राज्य सिक्किमको अस्तित्वको निम्ति सुरक्षा कवजको रूपमा संविधानको धारा ३७१ एफ को विशेष प्रावधान अन्तर्गत सिक्किमका पुराना कानूनहरू साथै सांस्कृतिक मूल्य र मान्यताहरूको सुरक्षा सुनिश्चित गरिएको छ। यसै गरी सिक्किमको सर्वाङ्गीण विकासको निम्ति भारत सरकारले पूर्ण प्रतिबद्धताका साथ योगदान गर्दै आएको छ। प्रदेश भाजपाले राज्य दिवसको अवसरमा सिक्किमको प्रजातान्त्रिक व्यवस्था अझ विकसित, व्यवस्थित र पारदर्शी बन्दै जावोस् भन्ने कामनाका साथै राज्यको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

About Author

Advertisement