खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव इसाईहरूका अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सभासद सन्दीप छेत्रीद्वारा गहिरो श्रध्दाञ्जली एंव शोक समवेदना प्रकट गरेका छन्। चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभासद सन्दीप छेत्रीले डा. एडोन रोंगोंगको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘नेपाली साहित्यमा आफ्नो बहुमूल्य योगदान दिनुहुने एवम् नेपाली इसाई जगतका एक चम्किला तारा जसको कार्य अनि कुसल नेतृत्वको धेरैभन्दा धेरै प्रभाव हामीमा थियो र छ अनि सदैव रहने छ। उनको दु:खद निधनको खबरले हामी सबैलाई मर्माहत बनाएको छ।’ सभासद सन्दीप छेत्रीले अघि भने, ‘उनको निधनमा अत्यन्त मर्माहत बन्दै गहिरो शोक व्यक्त गर्दछु। एडोन रोंगोंगको परिवारलाई यस ठूलो बज्रपात सहन गर्ने ईश्वरीय शक्ति मिलोस्। उनी सदैव हाम्रो सम्झनामा रहनेछन्।’