नाम्ची: नाम्ची जिल्लाका काउन्टिङ सुपरभाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबरजर्भरहरूलाई लिएर दोस्रो दिनको प्रशिक्षण कार्यक्रम आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस प्रशिक्षण कार्यक्रममा चुनाउ प्रकोष्ठकी उपसचिव भूमिका छेत्री, एसएलएमटी छिरिङ नोर्गयाल थिङ, महकुमा अधइकारी गोपाल कुमार छेत्री लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा भूमिका छेत्रीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा मतगणना अधिकारीहरूले पालन गर्नुपर्ने नियमबारेमा प्रशिणार्थीहरूलाई विस्तृत रूपमा जानकारी गराइन्। उनले डाक मतपत्र, इलेक्ट्रोनिकली ट्रान्समिटेड पोष्टल मतपत्र प्रणाली, इलेक्ट्रोनिक भोटिङ मशिन र भोटर भेरिफायेबल पेपर अडिट ट्रेलको गणना गर्दा मतगणना अधिकारीहरूले पालना गर्नुपर्ने विभिन्न प्रोटोकलहरूबारे पनि अवगत गराइन्।उनले डाक मतपत्र गणना सुरु भएको ३० मिनटपछि इभीएमद्वारा मतगणना शुरु हुने बताइन्। यसबाहेक उनले मुख्य विषयहरूमाथि प्रकाश पार्दै कानूनी प्रावधानहरू, मतगणना तालिकाको रूपरेखा, डाक मतपत्र/गृह मतदान गणना तालिका र मतगणना प्रक्रियामा सूक्ष्म पर्यवेक्षकहरूको भूमिकाबारे अवगत गराइन्। उनले मतगणनाको निम्ति खटिएका अधिकारीरु सचेत रहन र मतको गोपनियता कायम राख्न नसकेको खण्डमा मतगणनाका अधिकारीहरु विरुद्ध चुनाउ आयोगले अनुशासनात्मक कारबाही गर्न सक्ने समेत जानकारी गराइन्। सोही क्रममा एसएलएमटी छिरिङ नोर्ग्याल थिङले भारतीय चुनाउ आयोगले जारी गरेको दिशा निर्देशबारे विस्तृतरूपमा अवगत गराए। विशेष गरेर उनले मतगणना केन्द्रको व्यवस्था र मतगणना प्रक्रियालाई राम्ररी व्यवस्थापन गर्ने सम्बन्धमा भारतको चुनाउ आयोगले जारी गरेको निर्देशनलाई कढाइको साथमा पालनना गर्नुपर्ने निर्देश दिए। मतगणनाको ठीक एक घण्टा अघि नै मतगणनामा खटिएका अधिकारीहरू स्ट्रङ रूम अघि उपस्थित हुनुपर्ने सुझाउ दिए। उनले जानकारी गराए अनुसार नाम्ची जिल्लाको निम्ति मतगणनाको लागि आठवटा मतगणना हल हुनेछ। आजको यस प्रशिक्षण कार्यक्रममा कूल 60 जनाले सहभागिता जनाएका थिए।