गान्तोक: सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले आइतवार राजधानीको फुटबल हाउसमा बी डिभिजन क्लबहरूलाई लिएर प्री सिजन बैठक आयोजन गऱ्यो। बैठक आयोजन गर्नुको उद्देश्य बी डिभिजन लिग शुरू हुनुभन्दा अघि विभिन्न प्राविधिक र रसद पक्षहरूमाथि चर्चा गर्नु रहेको थियो।
बैठकमा नर्दनर्स एफसी, साङ मुस्ताङ एफसी, सिक्किम बोइज एफसी, रेड पाण्डा एफसी, बोइज क्लब अफ गान्तोक र सन्जु फुटबल एकाडेमीका प्रतिनिधिहरू उपस्थित रहेको जानकारी एसएफएले प्रेस विज्ञप्तिमा गराएको छ। एसएफएको पक्षमा महासचिव फुर्बा शेर्पा, कोषाध्यक्ष सुशन तामाङ र उपाध्यक्ष छेवाङ पल उपस्थित थिए।
महासचिव शेर्पाले बैठकमा साई नाम्चीले सहभागिता नजनाउने भएपछि साङ मुस्ताङ एफसीलाई लिगमा सामेल गरिएको जानकारी गराए। लिगमा आधिकारिक लिग बलको रूपमा निविया डोमिनेटर ३.० प्रयोग गरिने बताउॅंदै एआईएफएफको नियम अनुसार सबै टीमले सी लाइसेन्स कोच पञ्जीकरण गर्नुपर्छ भनी जानकारी गराए।
यस अतिरिक्त बैठकमा थुप्देन रापग्याल मेमोरियल च्याम्पियनशीप अन्डर १५ बोइजबारे पनि चर्चा गर्दै ३१ मई, २०२४ सम्म समय दिइने निर्णय लिइएको छ। उक्त प्रतियोगिता अब जूनको दोस्रो साता शुरू हुने बताइएको छ।










