झापा: कालेवुदुली सडक निर्माणका क्रममा लापारवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेपछि मोरंग जिल्लाको लेटाङ नगरपालिका र पूर्वाधार कार्यालय विराटनगरको टोलीले निर्माण कार्यको अनुगमन गरेको छ। नगर प्रमुख भूपेन्द्र कुमार लावती र पूर्वाधार कार्यालय विराटनगरका कन्सल्टेन इञ्जिनियर श्याम वानिया सहितको टोलीले सडक निर्माण कार्यको अनुगमन गरेको हो। लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले कालेवुदुली सडकमा साइड ड्रेन निर्माणका क्रममा त्रुटी भएको गुनासो आएपछि अनुगमन गरिएको जानकारी दिए। उनले केही समय अघि समेत अनुगमन गरि सडक निर्माणमा त्रुटी नगर्न निर्देशन दिएपनि निर्माण पक्षले अटेर गरेको बताए। सडक निर्माणको अनुगमन गर्नुपर्ने निकाय पूर्वाधार विकास कार्यालय विराटनगरले आवश्यक अनुगमन नगरेका कारण निर्माणाधिन सडकमा समस्या देखिएको नगर प्रमुख लावतीको भनाइ छ। यता पूर्वाधार कार्यालय विराटनगरका इञ्जिनियर श्याम वानियाले समेत कार्यालयको तर्फबाट अनुगमन गर्ने कार्यमा कमजोरी भएको स्विकार गरेका छन। उनले हाल एकजना मात्र सुपरभाईजर खटिएकाले अनुगमन प्रभावकारी हुन नसकेको गुनासो गरे।स्थानीय राज विक्रम राईका अनुसार साईड ड्रेन निर्माणका क्रममा फोस्के ढुंगा प्रयोग गरिएको, भ्राईव्रेट मेसिनले ड्रेनको मसला मिलाउनुपर्नेमा त्यसो नगरिएको, मसलामा सिमेन्टको मात्रा कम राखिएको, निर्माण भएको ड्रेनमा पानी नलगाएको तथा मापदण्ड भन्दा धेरै र ठूला ढुंगा प्रयोग गरिएको पाइएको छ। पटक पटक सुधार गर्न आग्रह गर्दा समेत अटेर गरेपनि काम रोक्न बाध्य भएको उनको भनाइ छ ।स्थानीयवासीको अवरोधका कारण पर्खाल निर्माणको काम रोकिएपनि अन्य काम भने सूचारु नै रहेको छ। मई १५(बुधबार) नगरपालिका र पूर्वाधार कार्यालयका प्रतिनिधि सहितको टोलीले पुनः संयुक्त रुपमा अनुगमन गरि त्रुटी भएका ठाउँ पहिचान गरि सच्याउन लगाउने बताइएको छ। ठेकेदार भीम पौडेलको सन्तोषी जोया एण्ड ब्रोदर्स जेभी सुनसरीले सडक निर्माणको ठेक्का पारी गत अप्रिल २३, २०२३ ठेक्का सम्झौता भएकोमा ७ महिना पछि मंसिरमा शिलान्यास गरि काम सुरु गरिएको थियो। कूल ८७ करोड ३ लाख ५३ हजारमा लेटाङ बजारको वीपी चौकदेखि चौविसे गाउँपालिकाको छ नम्बर बुधबारेसम्म २९ दशमलव ६० किलोमिटर सडक ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको हो। तर निर्माण कार्यको प्रगती सन्तोषजनक नै भएपनि गुणस्तरीयताको विषयमा पटक पटक कमजोरि भेटिएपछि स्थानीयआन्दोलित भएका छन्।










