झापा: अवैध सट्टेबाजी प्लेटफर्म वनएक्स बेटका एक एजेन्ट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार एक कार्यक्रम बीच ती युवकलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर घर भइ हाल भक्तपुर सूर्यविनायक बस्दै आएका २४ वर्षीय अनिल ढुङ्गाना रहेका छन्। सन् २०१९ यता उनले अवैध अनलाइन सट्टेबाजीका क्रममा दुई अर्ब एक करोड रुपैयाँ बढीको कारोबार गरेको पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुई ओटा नम्बरको सहायताले पक्राउ परे एजेन्ट
कार्यालयको साइबर पिल्लरमा करिब तीन महिनाअघि एउटा स्रोतबाट सूचना आयो। “हामीलाई दुई ओटा नम्बर वनएक्स बेटमा बढी नै प्रयोग भइरहेको भन्ने सूचना प्राप्त भएको थियो,” टेकपानासँग कुरा गर्दै एक अनुसन्धान अधिकारीले भने, “त्यही नम्बर कहाँ कहाँ जोडिएको छ भनेर खोज्दै गयौं। त्यही क्रममा उक्त नम्बरको जालो फेला पर्यो।”
ती नम्बरलाई ट्रेस गर्दै जाँदा विभिन्न बैंक तथा वालेटमा लिङ्क भएको पुलिसले पत्ता लगायो। त्यसपछि ती बैंक अकाउन्टको विश्लेषण सुरु भयो। “यो सबै अनुसन्धान गर्न हामीलाई तीन महिना लाग्यो,” ती अनुसन्धान अधिकारीले भने, “यसको सञ्जाल अझ ठूलो हुन सक्ने देखिएको छ।”
उक्त नम्बर र आरोपित ढुङ्गानालाई पक्राउ गर्दाका विभिन्न विवरण हेर्दा उनले चार वर्षको अवधीमा ५६ ओटा बैंक अकाउन्ट, १५ ओटा वालेट र दुई ओटा बाइनान्स अकाउन्ट खोलेको देखिन्छ। सो अवधिमा बैंकबाट ५१ करोड ६४ लाख ५९ हजार १२० रुपैयाँ, वालेटबाट पाँच करोड ९३ हजार ७८२ रुपैयाँ र बाइनान्सबाट एक अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँको कारोबार भएको प्रमाण पुलिसले फेला पारेको छ। यसबाट उनले सात प्रतिशत कमिसन पाउने गरेको बताइएको छ।
यसरी कारोबार गर्न ढुङ्गानाले विभिन्न व्यक्तिको नाममा भएका ११ ओटा कनेक्ट आईपीएस प्रयोग गरेर ५५ ओटा बैंक अकाउन्ट लिङ्क गरेका थिए। कनेक्ट आईपीएसमा लिङ्क भएका बैंकबाट मात्र उनले ४८ करोडभन्दा बढीको कारोबार गरेका थिए।
सर्वसाधारणको नागरिकताको मूल्य दुई हजार हाराहारी
यसरी अवैध कार्यमा प्रयोग गर्नका लागि आरोपित ढुङ्गानाले सर्वसाधारणका नागरिकता र अन्य संवेदनशील विवरण प्रयोग गर्ने गरेको पुलिसले जनाएको छ। “मलाई तपाईंको नागरिकता दुई दिनका लागि चाहियो, त्यसको बदलामा दुई हजार दिन्छु भन्यो भने जो पनि दिन तयार हुँदा रहेछन्,” ती अनुसन्धान अधिकारीले अगाडि भने, “अधिकांश सर्वसाधारणलाई ढुङ्गानाले त्यसरी प्रलोभनमा पारेर नागरिकता लिएको देखिन्छ।”
यसरी कागजात दुरुपयोग भएका सर्वसाधारणलाई बोलाएर ढुङ्गाना विरुद्ध कागजात दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाउन लगाउने कार्यालयले जनाएको छ। त्यस्तै उनले ती नागरिकता प्रयोग गरेर ३५ भन्दा बढी सिमकार्ड निकालेको पुलिसको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
बेटिङको फेसबुक पेज खोलेर जुवा खेल्न प्रेरित
आरोपित ढुङ्गाना जुवा ३६५ नामक फेसबुक पेजका सञ्चालक रहेको पुलिसको भनाइ छ। उनले उक्त पेजबाट जुवासँग सम्बन्धित पोस्ट राख्ने र यवाहरूलाई जुवा खेल्न प्रेरित गर्ने गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।
उनका अनुसार आरोपित ढुङ्गानाले जुवा ३६५ डोमेनको वेबसाइट आफ्नै हो भनेर फेसबुक पेजमा जोडिएका सर्वसाधारणलाई प्रलोभनमा पार्थे। र, रकम जम्मा गर्न लगाउँथे। त्यही फेसबुक पेजमा राखिएको (+१ (७४७) २२६ ४४३०) नम्बरबाट ह्वाट्सएपमा सम्पर्क गर्थे। त्यस बाहेक एजेन्ट बनेर ५० प्रतिशतभन्दा बढी आम्दानी गर्नका लागि उनले लिङ्क समेत उपलब्ध गराएका थिए। झन्डै १४ हजार बढी फलोअर भएको सो पेजमा ढुङ्गाले उक्त प्लेटफर्म नेपालकै पहिलो स्वचालित जुवाको प्लेटफर्म भन्दै प्रचार गर्थे।
रकम बाहिर पठाउन बाइनान्स
ढुङ्गानाले चार वर्षको अवधिमा गरेको कारोबार विश्लेषण गर्दा केही प्रतिशत रकम देशमै सर्कुलेट भए पनि अधिकांश रकम विदेश गएको अनुसन्धानकर्ताले सुनाए। “अहिलेसम्म बाइनान्समा दुई ओटा अकाउन्ट खोलेर २४३ प्रकारका क्रिप्टो कारोबार गरेको देखिन्छ,” ती अनुसन्धान अधिकारीले भने, “यसमा भएको कारोबार हेर्दा एक अर्ब ३४ करोड बढी रहेको देखिन्छ।”
वनएक्स बेटमा क्रेडिट क्रिप्टोबाट गर्न सकिने भएकाले यस्तो अवैध काममा बाइनान्सको प्रयोग बढी हुने गरेको अनुसन्धान अधिकारीले सुनाए। जतिलाई बाइनान्स प्रयोग गर्न आउँदैन, उनीहरू एजेन्टकहाँ रकम पठाउन लगाउने गरेको उनको भनाइ छ।
बाइनान्स मात्र नभइ ढुङ्गानाले पायोनिर कार्डबाट पनि कारोबार गर्थे। पुलिसले उनको साथबाट विभिन्न व्यक्तिको नाममा रहेका २४ ओटा पायोनिर कार्ड बरामद गरेको छ। यस्तो कार्ड करेन्सी युरो, जीबीपी, सीएडी, यूएसडीटी आदिको कारोबार गर्न प्रयोग गरिन्छ।
वेबसाइट बन्द गराउँदा नयाँ नाममा सञ्चालन
नेपालमा अवैध मानिएका अधिकांश सट्टेबाजी प्लेटफर्म बन्द गरे पनि ती नयाँ नयाँ नामबाट सञ्चालनमा आउने गरेको पुलिसको भनाइ छ। आइतबार आयोजित कार्यालयमा बोल्दै इन्स्पेक्टर राजेश महर्जनले यस्ता प्लेटफर्म बन्द गरे पनि नयाँ नयाँ नामबाट सञ्चालनमा आइरहने बताए। “हामीले एनटीएलाई भनेर वेबसाइट बन्द गर्न लगाएका हुन्छौं,” इन्स्पेक्टर महर्जनले भने, “तर, लगत्तै नयाँ नामबाट सञ्चालनमा आउँछ।”
रकम निकाल्न भारतीय आधार कार्ड
प्रहरीले ढुङ्गानाबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएफसी बैंकको चेकबुक तथा एटीएम कार्ड र एयरटेलको सिम बरामद गरेको छ। प्रहरी स्रोतका अनुसार नेपालका विभिन्न बैंकमा जम्मा गरेको रकम निकाल्नका लागि उनले भारतीय बैंकलाई माध्यम बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनले आफ्नो नाम परिवर्तन गरेर अनिल शाह राखेर ती कार्डहरू लिएका थिए।
वनएक्स बेटका प्रयोगकर्ता खोज्दै पुलिस
कार्यालयका प्रमुख एसएसपी भट्टराईले अबको चरणमा वनएक्स बेट लगायतका प्लेटफर्मबाट जुवा खेल्नेलाई समेत पक्राउ गर्ने तयारी भइरहेको सुनाए। “अहिले हामी एजेन्टको जालोलाई विश्लेषण गरिरहेका छौं,” एसएसपी भट्टराईले अगाडि भने, “अब खेल्नेहरूलाई पनि पक्राउ गर्ने तयारीमा छौं।










