झापा: एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन्। आरोहण गर्नेमा कामिरिता शेर्पा पनि छन्। उनले यसअघिको आफ्नै रेकर्ड भङ्ग गर्दै २९ औँ पटक सगरमाथा आरोहण गरेका छन्।पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भने, “बाटो तयार भएसँगै चुचुरोतर्फ लागेका आरोहीमध्ये आइतबार बेलुकासम्म ७० आरोही र सहयोगीले चुचुरो टेकेका छन्। आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार मौसमले साथ दिएका कारण आधार शिविरमा रहेका आरोही उत्साही हुँदै चुचुरोतर्फलाग्ने क्रम जारी छ।” मई १० बेलुका ८ बजेर १५ मिनेटमा १० जना अनुभवी शेर्पाको टोलीले चुचुरोसम्मको बाटो बनाएर सिजनको पहिलो आरोहण सुरुवात गरेको उनले बताए। ती अनुभवी शेर्पाको समूह आधार शिविर फर्किसकेको छ। आरोहीको नाम र आरोहण एजेन्सीको नाम विस्तृत अध्ययनपछि सार्वजनिक हुने बताउँदै निर्देशक गुरुङले आरोही कामिरिता शेर्पाले आइतबार बिहान २९औँ पटक सगरमाथा आरोहण गरेर संसारमै सगरमाथाको सर्वाधिक आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएको जानकारी दिए ।उनले भने “गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथा शिखरमा पुगेका कामिरिताले यस पटक सेभेन समिट ट्रेक्सको भगिनी संस्था फोर्टिन पिक्स एक्सपिडिसनमार्फत आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन । मौसम र स्वास्थ्यले साथ दिए उनी यसै सिजनमा पुनः चुचुरो टेक्ने मनसायमाछन।” कामिरिताले गत वर्ष दुई पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने रेकर्ड बनाएका थिए। आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा चुचुरो टेकेका हुन। उनी आरोहण सकेर दोस्रो शिविरमा ओर्लिइसकेका छन। कामिरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुका ४७ वर्षीय पासाङ दावा (पादावा) शेर्पा छन। उनीले गत वर्ष यही सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर (२६औँ र २७औँ पटक) कामिरिताकै हाराहारीमा कीर्तिमान बनाएपछि कामिरिताले एक साता नबित्दै पुनः सगरमाथा आरोहण गरेर २८औँ पटकको रेकर्ड बनाएका थिए। गत वर्ष १२ मई मा सगरमाथाको पहिलो आरोहण भएको थियो। यस वर्ष सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ४१४ आरोहीले अनुमति लिएका छन्। स्वीकृति लिनेमा ७५ महिला र ३३९ पुरुष छन्। सगरमाथामा अनुमति दिएबापत ५९ करोड २३ लाख ५ हजार ८४९ रुपियाँ सलामी दस्तुर (राजस्व) सरकारका नाममा दाखिला भएको छ। गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४७८ जनाले अनुमति लिएका थिए, जुन हालसम्मकै सर्वाधिक हो।









