फेवातालबाट जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी

IMG-20240514-WA0004.jpg

झापा: पोखराको फेवाताल जलकुम्भी झारले ढाकिन थालेपछि ताल सफा गर्न नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान नामक संस्था जुर्मुराएको छ। आइतबार यी संस्थाको अगुवाइमा महानगर, सुरक्षाकर्मी र आम नागरिकहरु सम्मिलित समूहले भकुन्डे क्षेत्रको जलकुम्भी झार निकाल्ने काम गरेको छ। आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर पुलिस र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए। ‘फेवातालको भविष्यप्रति हामी निकै चिन्तित छौँ,यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको छ,’ उहाँले भने , ‘तालको संरक्षणको लागि हामीले सरोकारवालालाई घच्घच्याइरहेका छौँ र कम्तिमा अहिले जलकुम्भी फालौँ भनेर अगाडि सरेका हौँ। नागरिक समाज फेवाताल संरक्षणका लागि जुनसुकै मूल्य चुकाउन प्रतिबद्ध छ।’ यता, स्वयंसेवी रूपमा सफाइ अभियान सञ्चालन हुँदै आइरहेकोमा यसपटक भने ४० जनालाई रोजगारी नै दिएर जलकुम्भी हटाउने अभियानमा खटाउने भएको छ। सोमबारदेखि स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिने गरी जलकुम्भी हटाउने काम थालनी गरिने पोखराका मेयर धनराज आचार्यले बताए ।‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ,’ नगर प्रमुख आचार्यले भने, ‘यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरणसहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ’ उनले जलकुम्भीको स्रोतमै व्यवस्थापन थालिएको बताए। पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो। दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्नेछन्। फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियन्ताहरुले बताएका छन्। आइतबार नेपाली सेना, सशस्त्र पुलिस , सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका छन्। पहिलो दिन १५ टिपर जलकुम्भी निकालिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement