कोलकाता: आइतबार २४ नम्बर रुपनारायण नन्दन लेन, भवानीपुर, कोलकातामा अवस्थित हाम्रो छहारीको भवनमा हाम्रो छहारी कलकत्ताका सभापति श्रीमती सङ्गीता शेर्पाको सभापतित्वमा सम्पन्न भयो।यस कार्यक्रममा प्राध्यापक डा. सत्यप्रकाश तिवारी मुख्य अतिथि अनि कोलकाताका एक सफल व्यापारी अनि समाजसेवी भीमबहादुर श्रेष्ठ अनि समाजसेवी श्रीमती बिन्दिया श्रेष्ठ विशेष अतिथिका रुपमा उपस्थित थिए। स्वागत भाषण श्री श्री जानकी माता नेपाली धार्मिक सेवा संघका सभापति गुञ्जमान श्रेष्ठद्वारा राखिएको कार्यक्रममा साहित्यकार गोपाल भित्रीकोटी, मोहन सिङ, सन्जीव गुरूङ अनि निमा निष्कर्षले स्वरचित रचनाहरू वाचन गरे भने धन्यवाद ज्ञापन कोलकाता छहारीका सभापति श्रीमती सङ्गीता शेर्पाले गरिन्।
चरित्र प्रकाशन कालेबुङद्वारा प्रकाशित कथाकार अलिको कृतिमाथि आफ्नो समीक्षा राख्ने क्रममा कवि सन्जीव गुरुङले उक्त कृति भुत्याहा कथाहरूको सङ्ग्रह भएको कारण रोचक रहेको अनि पुस्तकमा भुत्याहा कथाहरूबाहेक अन्य विविध अनि महत्त्वपूर्ण विषयहरू पनि समेटिएको कारण पठनीय भएको विचार राखे। आफ्नो वक्तव्य राख्दै मुख्य अतिथी डा. सत्यप्रकाश तिवारीले कृतिकारलाई बधाई दिँदै पुस्तक पठनपछि मसीक्षा गर्ने मनसाय पोखे।मुख्य अतिथी श्री भीमबहादुर श्रेष्ठले आफ्नो वक्तव्यमा कलकत्ता हाम्रो छहारी सञ्चालन भएकोमा हर्ष व्यक्त गरे अनि कृतिकारलाई बधाई दिँदै उनको दीर्घायुको कामना गरे अनि भविष्यमा अझै पुस्तकहरू पढ्न पाउने आशा पनि साँचेको कुरा राखे। आज विमोचित पुस्तक अबुईका लेखक शमशेर अलीले आफ्नो विचार राख्ने क्रममा विगतमा कालेबुङबाट प्रकाशित साप्ताहिक पत्रिका प्रवाहमा उनले लेखेका भुतका कथाहरू पाठकहरूले असाध्य रुचाएर पढेको अनुभव साझा गर्दै अब उनको एउटा उपन्यास लेख्ने योजना रहेको पनि बताए।कोलकाता पुलिसमा कार्यरत्त कवि निमा निष्कर्षद्वारा सञ्चालन गरिएको कार्यक्रममा कृतिकारको छोटो परिचय पनि सञ्चालक स्वयंले राखेका थिए।
कार्यक्रम आयोजनामा श्री श्री जानकी माता धार्मिक सेवा संघ, कोलकाताका सदस्यहरूको उल्लेखनीय योगदान रह्यो।कोलकाताको भवानीपुरमा हाम्रो छहारी कोलकाताद्वारा एउटा भवनको सञ्चालन भइरहेको छ जहाँ उपचार अनि विविध कामहरू लिएर कलकत्ता आएका मानिसहरूले बस्ने अनि खाना पकाएर खानेजस्तो सुबिधाहरू बाहेर विभिन्न प्रकारका सहयोग पाइरहेका छन्। कोलकातामा आयोजित हुने मासिक साहित्यिक कार्यक्रम साहित्यिक छहारीको चौँथो प्रकरण पनि आजको पुस्तक लोकार्पणको कार्यक्रमसँगै आयोजित भयो। कार्यक्रमका सभापतिले आफू सानी छँदा आफ्नै आँखाले भूत देखेको रोचक घटना सुनाए।











