क्षेत्रभरी भूतपूर्व सैनिकहरूद्वारा सञ्चालित साझा सेवा केन्द्र र प्रधानमन्त्री जनऔषधी केन्द्रहरू स्थापित गरिने
नयाँ दिल्ली: भूतपूर्व सैनिक कल्याण विभागको समाधान अभियान अन्तर्गत लोकसम्पर्क कार्यक्रमको अंशका रूपमा सचिव डा. नीतेन चन्द्रले १३ मईको दिन पूर्वोत्तर राज्य सिक्किमको सीमावर्ती इलाकाको दौडाहा गरी भूतपूर्व सैनिकहरूका लागि निहित विभिन्न कल्याण योजनाको वस्तुगत जानकारी लिए। भूतपूर्व सैनिकहरूको वित्तीय सुरक्षालाई थप टेवा प्रदान गर्न सचिव डा. चन्द्रले राज्य सैनिक बोर्ड अनि जिल्ला सैनिक बोर्डहरूलाई क्षेत्रभरी पूर्णरूपले भूतपूर्व सैनिकद्वारा सञ्चालित साझा सेवा केन्द्र र पीएम जनऔषधी केन्द्रहरू स्थापित गर्न निर्देश दिए।

यसै क्रममा डा. चन्द्रले सिक्किमका मुख्य सचिव भीबी पाठकसँग पनि गान्तोकमा भेटवार्ता गरी भूतपूर्व सैनिकहरूको कल्याण उपायहरू सुदृढ बनाउने मार्गचित्रबारे चर्चा गरे। राज्यको बागवानी विभागको सहयोगमा भूतपूर्व सैनिकहरूको सहकारी संस्थानलाई क्षेत्रमा एवाकाडो, सुन्तला, किवी अनि गरेण्डलको खेती गर्न सहायता प्रदान गरिने चर्चा गरियो।

सचिव डा. चन्द्रले भारतीय सेनाको १७ माउन्टेन डिभिजनको पनि भ्रमण गरे जहाँ उनलाई जीओसी मेजर जेनरल अमित कबथियालले स्वागत जनाए। यसका साथै उनले तीनवटा ईसीएचएस पोलीक्लिनिक, स्पर्श सुविधा केन्द्र तथा भूतपूर्व सैनिक सुविधा केन्द्र लदायत विभिन्न रक्षा प्रतिष्ठानको भ्रमण गरी लाभार्थीहरूलाई उपलब्ध सुविधाबारे जानकारी लिए।

यसका साथै भूतपूर्व सैनिकहरूसँग भेट गरी उनले स्पर्श पेन्सन, स्वास्थ्य स्याहार तथा उनीहरूको पुनर्वास लगायत अन्य विषयमा जानकारी लिए। सुविधा अभियानको क्रममा डीजी पुनर्वास मेजर जेनरल एसबीके सिंहले भूतपूर्व सैनिकहरूको कैशल र दक्षता बढाउन प्रदान गरिने विभिन्न कार्यक्रमका साथै पुनर्वासका लागि उद्यमिता नमूनाबारे विस्तारका साथ जानकारी दिए। समाधान अभियानमा धेरै संख्यामा भूतपूर्व सैनिकहरूले सहभागिता जनाए जहाँ उनीहरूसित सम्बन्धित कैयौं विषयलाई सम्बोधित गरियो। -पीआइबी











