जयगाउँ – भारत भोटाङ सीमान्त सहर जयगाउँ र दलसिंहपाड़ा एवम् खोक्ला बस्ती क्षेत्रको माझ एसियन हाईवे 48 जीएसटी पासाखा रोड संलग्न रहेको एउटा जमीनको सीमा पर्खाललाई आज बीएलआरओ लगायत एसडीओ र एसडीपीओ एवम् पुलिसबलको उपस्थितिमा डोजर लगाएर भत्काईएको छ। उक्त जमीनलाई अवैद्य दखल गरेर पक्का सीमा पर्खाल लगाईएकोले प्रशासनिक अनुमतिको आधारमा भत्काईएको प्रशासनिक सुत्रले जनाएका छन। जम्मा 7 वटा पर्खालहरू आज भत्काईएको बताउँदै कानुनी प्रक्रिया अन्तर्गत यो कार्य गरिएको अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले जनाएका छन्।

यता उक्त भत्काईएको सीमा पर्खाल कसको थियो सो बारे कुनै टिप्पणी प्रशासनिक अधिकारीले नगरेको तर सो सीमा पर्खाल संलग्न रहेको एकजना स्थानीय बासिन्दा ठूली लामाले आफ्नो घरको पर्खाल पनि भत्काईएकोमा पुस्तादेखि बस्दै आइरहेको आफ्नो जमीनमा यसरी सरकारको डोजर चल्दा असुरक्षित महसूस गरेको बताएकी छन्। तथापि उक्त महिलाको घरहरू केही नभत्काएको स्थानीय प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
ज्ञात रहोस, जयगाउँ क्षेत्रमा सरकारले सरकारी जमीन चिन्हित गरेपछि सो सरकारी जमीनहरूमा कुनै पनि अवैद्य दखल औ निर्माण विरुद्ध पदक्षेप ग्रहण गर्दै आइरहेको छ भने अचानक सरकारको यसप्रकारको पदक्षेपले स्थानीय बासिन्दाहरूले असुरक्षित बोध गरिरहेको जान्नमा आएको छ।