पाकिम: देशको चौथो उच्च नागरिक पुरस्कार पद्म श्री प्रापक जोर्डन लेप्चा आज सिक्किम फर्किआएका छन्। नयॉं दिल्लीमा आयोजित नागरिक अलङ्करण समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीद्वारा जोर्डन लेप्चालाई प्रतिष्ठित पद्म श्री पुरस्कारले सम्मानित गरिएको थियो।
रम्फूमा उनको आगमन भएपछि पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, रम्फूका एसडीएफ थेन्डुप लेप्चा, सिक्किम लेप्चा एसोसिएशनका सदस्यहरू र राज्यभरिबाट आएका गणमान्य व्यक्तिहरूले लेप्चालाई स्वागत जनाए। उत्तर सिक्किमको जङ्गु निवासी जोर्डन लेप्चा विगत २५ वर्षदेखि पारम्परिक लेप्चा ह्याट जसलाई सुमोक भनिन्छ र बॉंसका शिल्पहरू बनाउने कार्यमा संलग्न छन्।
उनको उल्लेखनीय प्रयासहरूले पौराणिक कलाको संरक्षण गर्नुका साथै राज्यका युवाहरूलाई बॉंस शिल्प सिकेर आत्मनिर्भर बन्न मद्दत गरिरहेको छ। समुदाय र समाजप्रति उनको अथक समर्पणकै कारण आज उनी प्रतिष्ठित पुरस्कारले सम्मानित बनेका छन्। उनको कार्य प्रेरणाका स्रोत हुन् भने कला र समुदायप्रतिको उनको अटल प्रतिबद्धताबाट धेरै कुरा सिक्न सकिन्छ।









