मीरपुर: लगातार चारवटा हारपछि जिम्बाब्वेले पाँचौं तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक बंग्लादेश विरुद्ध ८ विकेटले जीत हासिल गऱ्यो। पाँचौं म्याचमा पराजित भए पनि पहिलो चारवटा म्याच जित्ने बंग्लादेशले सीरीज ४-१-ले झोलीमा हाल्यो। आज टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेशले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनायो । खराब शुरुवातपछि १५ रनमा ३ विकेट गुमाउने बंग्लादेशबाट महमदुल्लाहले मोर्चा सम्हाले, जसले ४४ बल खेलेर सर्वाधिक ५४ रन बनाए। उनले ६ वटा चौका र एउटा छक्का लगाए। महमदुल्लाहले कप्तान नाजमूल होसेन शान्तो (३६ रन)-सँग चौथो विकेटको निम्ति ६९ रनको पार्टनरशीप गरे। यी दुई बाहेक शाकिब अल हसनले २१ र अन्तिम ओभरहरूमा जाकीर अलीले ११ बलमा अविजित २४ रन बनाए। जिम्बाब्वेको तर्फबाट ब्लेसिंग मुजारबानी र ब्रायन बेनेटले २-२ विकेट लिए। त्यसपछि जिम्बाब्वेले ओपनर ब्रायन बेनेट र सिकन्दर रजाको अर्द्धशतकको सहायताले १८.३ ओभरमा केवल २ विकेट गुमाएर १५८ रनको लक्ष्यलाई हासिल गऱ्यो। रजाले ४६ बल खेलेर ६ वटा चौका र ४ वटा छक्काको साथ सर्वाधिक अविजित ७२ रन बनाए। बेनेटले ४९ बल खेलेर ५ वटा छक्का र ५ वटा चौकाको साथ ७० रन बनाए। यी दुईले दोस्रो विकेटको निम्ति ७५ रनको पार्टनरशीप गरे। ब्याट र बल दुवैको साथ असल प्रदर्शन गर्ने बेनेटलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी पाँचवटा म्याचमा ८ विकेट लिने बंग्लादेशका तस्कीन अहमदलाई प्लेयर अव् द सीरीजको पुरस्कार प्रदान गरियो।