चेन्नई: गत सीजनको विजेता चेन्नई सुपर किंग्स (सीएसके)-ले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को ६१औं म्याचमा शक्तिशाली राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै सीएसके-ले १३ वटा म्याचमा १४ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको तेस्रो स्थान हासिल गरी प्लेअफ्-को सम्भावनालाई कायम राख्यो। यसरी लगातार तेस्रोपल्ट हारको सम्मुखीन हुने राजस्थान रोयल्स १२ वटा म्याचमा १६ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो । एमए चिदाम्बरम स्टेडियम (चेपक)-मा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनायो। सीएसके-ले १८.२ ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएर जीत दर्ता गऱ्यो। पीच सामान्य धीमा रहेको हुनाले सीएसके-को तर्फबाट कप्तान रुतुराज गायकवाड़ले धैर्यको साथ खेल्दै क्रीजमा कायम रहेर अविजित ४२ रन बनाए। उनले ४१ बल खेलेर एउटा चौका र २ वटा छक्का लगाए। यसबाहेक रचिन रविन्द्रले दोस्रो सर्वाधिक २७ रन बनाए। डेरिल मिचेलले २२, शिवम दुबेले १८ र इम्प्याक्ट खेलाड़ी समीर रिज्वीले अविजित १५ रन बनाए। रोयल्सका बलरहरूमा रविचन्द्रन अश्विनले सर्वाधिक २ विकेट हासिल गरे।

सीएसके-को होम ग्राउण्डमा पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सको शुरुवात धीमा रह्यो। यशस्वी जयसवाल (२४) र जोस बटलर (२१)-ले मिलेर पहिलो विकेटको निम्ति ३८ बलमा ४३ रनको पार्टनरशीप गरे। यी दुई आउट भएपछि रियान परागले टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। परागले कप्तान सञ्जु सेमसन (१५ रन)-सँग तेस्रो विकेटको निम्ति ४२ रन अनि ध्रुव जुरेल (२८ रन) -सँग चौथो विकेटको निम्ति ४० रनको पार्टनरशीप गरे। परागले ३ वटा छक्का र एउटा चौकाको साथ ३५ बलमा अविजित ४७ रन बनाए। पराग र जुरेलले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाए पनि धीमा शुरुवातले गर्दा रोयल्सले सोचे जति रन बनाउन सकेन। चेन्नईका बलरहरूमा प्लेयर अव् द म्याच रहने सिमरजीत सिंहले सर्वाधिक ३ विकेट हासिल गरे।