जलपाईगुडी: मैनागुडीको नयाँबजार मिलनपल्ली क्षेत्रमा आज २१ वर्षीय युवकको झुण्डिएको अवस्थामा लाश फेला परेको छ। मृतक युवक विक्रम बर्मन हुन्। पारिवारिक स्रोतका अनुसार उनको घर ज्योतपाटकी माथाभाङ्गा क्षेत्रमा रहेको, बुवाको नाम सुनिल बर्मन हो। कामका लागि उनी मैनागुडी पुरानो बजारमा काकाको कपडा पसलमा काम गर्थे। काकाको नाम विश्व रोय बर्मन हो। बिक्रम काकाको पसलमा काम गर्थे। मृतक विक्रम बर्मनका काका कामका लागि कोलकाता गएका छन्। हरेक दिन झैँ हिजो पनि पसल बन्द गरेर घर आए। राति खाना खाएर विक्रम सुते। आइतबार बिहान साढे ७ बजे फोन गर्दा ढोका नखोल्दा परिवारका सदस्यलाई शंका लाग्यो। पछि ढोका तोडेर हेर्दा विक्रम पंखामा झुण्डिएको देखे। विक्रमलाई मैनागुडी ग्रामीण अस्पताल पुर्याइए पनि ड्युटीमा रहेका डाक्टरले उनलाई मृत घोषित गरेका थिए। सूचना पाएपछि मैनागुडी थानाको पुलिसले लाश बरामद गरी मैनागुडी थानामा ल्याएको थियो। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ। स्रोतका अनुसार शवलाई पोस्टमार्टमका लागि जलपाईगुडी अस्पतालमा पठाइएको छ। परिवार र आफन्त स्रोतका अनुसार उनको साथबाट एउटा डायरी बरामद भएको छ। विक्रमले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन।