मुम्बई: बलिवुडकी नायिका करीना कपूर खानद्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबलः द अल्टिमेट मेन्युल फर मम्स टु बी’ मा उल्लेखित ‘बाइबल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको छ। करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन्। यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन्। उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन्। यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन्। तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ। पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ। मध्य प्रदेशको उच्च अदालतका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराउने वकिल क्रिस्टोफर एन्थोनीको निवेदनमा नोटिस जारी भएको छ।
‘जब वी मेट’ अभिनेत्रीलाई नोटिस पठाउने प्रमुख कारण पुस्तकको शीर्षकमा प्रयोग भएको ‘बाइबल’ हो। अदालतले अभिनेत्रीलाई पुस्तकमा ‘बाइबल’ लेख्नुको कारण माग गरेको छ। उजुरीकर्ताले किताबको बिक्रीमा रोक लगाउन माग गरेपछि प्रकाशकलाई पनि अदालतले नोटिस जारी गरेको छ। मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता क्रिस्टोफर एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्याएको दाबी गरेका छन्। ‘बाइबल विश्वभर इसाई धर्मको पवित्र किताब हो र करीना कपूर खानको प्रेग्नेन्सीको तुलना बाईबलसँग गर्नु गलत हो’ उजुरीमा उल्लेख छ। यसअघि पनि ‘बाइबल’ शब्द प्रयोग गरिएपछि आपत्ति जनाइएको थियो। उजुरी गर्ने व्यक्तिले पुलिस समक्ष करीनाविरुद्ध एफआईआर दर्ता गराएका थिए, तर पुलिसले त्यो दर्ता गर्न अस्वीकार गरेको थियो। पुनः ती व्यक्तिले तल्लो अदालतमा उजुरी दर्ता गराएका थिए। तल्लो अदालतले पनि उक्त उजुरी खारेज गरेको थियो। अहिले उच्च अदालतले करीनासँग जवाफ मागेको छ।