झापा: पूर्बी नेपालको सुनसरी जिल्लामा बसोबास गर्ने आदिबासी जनजाति उराँव समुदायका शिक्षित र साक्षर व्यक्तिहरुलाई लक्षित गरि पन्घ्र स्थानमा उराँव कुडुख मातृभाषा कक्षा सञ्चालनमा ल्याइएको छ। उराँव समुदायको भाषा, संस्कृति, रिजिरिवाज, परम्परागत मुल्यमान्यता, रहनसहन र अधिकारका लागि क्रियाशिल रहेको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानले हिमाली आदिवासी समाज काठमाडौको सहकार्यमा जिल्लाका १५ स्थानमा मातृभाषा कक्षा सञ्चालन गरि लेख्न पढन सिकाउन लागेको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार सुनसरीका ७ वटा स्थानीय तहका पालिकामा १५ वटा मातृभाषा कक्षामार्फत उराँव समुदायका साक्षर र शिक्षित व्यक्तिलाई मातृभाषामा अक्षर चिन्न, लेख्न र पढन सक्ने बनाउन लागिएको हो। उराँवले भने, ‘मातृभाषामा विभिन्न खालका प्रतिभा भएका व्यक्तिहरुले आवश्यकताका आधारमा व्यवहारिक प्रयोग गर्नुका साथै गित संगित र साहित्य सृजनाका बिषयहरु प्रस्फुटन गरि लेख्न र प्रकाशन गरि समुदायमा लैजान उत्प्रेरित गर्न सहज हुने उदेश्यले तालिमको आयोजना गरिएको हो।’ उनले मातृभाषा बोल्न जाने पनि मातृभाषाको शब्द अर्थलाई अक्षरमा लेख्न, पढन र चिन्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरेर सदरमुकाम इनरुवामा मातृभाषा कक्षा सञ्चालन गर्न १५ जना शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरि सहजकर्ताका रुपमा तयार पारिएको बताए। प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले बोलीचालीको भाषा मात्रै प्रयोग गर्दै आएका उराँव समुदायका व्यक्ति लाई व्यवहारमा प्रयोग गर्न लगाउने लक्ष्यका साथ कथा, कविता, गित, उखान टुक्काहरु मातृभाषामा लेख्न सक्ने र अन्यले त्यस्ता सृजनाहरु प्रयोग गर्न उत्सुक हुने अपेक्षाले साढे चार सयजनालाई मातृभाषा कक्षामा सहभागी गराइने बताए।प्रत्येक कक्षामा ३० जना सहभागी गराउने गरि दुहवी नगरपालिकामा १ स्थानमा, गढी गाउँपालिकामा २ स्थानमा, इनरुवा नगरपालिकामा २ स्थानमा, भोक्राहा, नरसिंह गाउँपालिकामा ५ स्थानमा, देवानगञ्ज गाउँपालिकामा १ स्थानमा, कोशी गाउँपालिकामा २ स्थानमा र हरिनगर गाउँपालिकामा १ स्थानमा एक महिनासम्म मातृभाषाको पाठयपक्रम पढाई हुनेछ ।उराँव मातृभाषा कक्षा सञ्चालनका लागि सहजकर्ता टासी सेर्पा र निरो बडाले प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरि दक्ष सहजकर्ताका रुपमा कक्षामा सहभागीहरुलाई उराँव भाषामा लेख्न, पढन र अरुलाई सिकाउन सक्ने गरि जनशत्ती तयार पारेका छन ।उराँव मातृभाषा कक्षा सञ्चालनका लागि हिमाली आदीवासी समाज काठमाडौले बेचन उराँव, सम्पतलाल उराँव र निरुलाल उराँव निरो बडाले सम्पादन गरि तयार पारेको कुडुख चाडेम टुड्ना बच्चना पुँथी नाम गरेको पाठयक्रमको पुस्तक प्रंकाशन गरेको छ।









