गान्तोक: सिक्किम गभर्नमेन्ट नर्सेस् वेलफेयर एसोसिएशन (एसजीएनडब्ल्युए) ले आज एसटीएनएम अस्पतालमा अन्तरराष्ट्रिय नर्स दिवस पालन गऱ्यो, जसको थीम ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य: हेरचाहको आर्थिक शक्ति’ राखिएको थियो।
एसटीएनएम अस्पतालको प्रेक्षागृहमा आयोजित कार्यक्रममा अस्पतालकी चिकित्सा अधीक्षक डा. रूथ योञ्जन मुख्य अतिथि थिइन्। विशिष्ट अतिथिहरूमा डा. सुरेश मदन रसाइली, डा. चिन्तामणि शर्मा र डा. डीबी बशिष्ट उपस्थित थिए।
मुख्य अतिथि चिकित्सा अधीक्षक डा. योञ्जनले नर्सिङ स्टाफको महत्वपूर्ण भूमिका र उनीहरूका अमूल्य वैश्विक योगदानको सराहना गरिन्। उनले नर्सहरू स्वास्थ्य सेवा प्रणालीका मेरुदण्ड हुन्, जसले हरेक दिन अथक दयालु हेरचाह प्रदान गर्छन् भी बताइन्। उनले नर्सरूका साहस, लचिलोपन, र बिरामीहरूप्रति अटल प्रतिबद्धतामाथि प्रकाश पारिन्।
उनले फ्लोरेन्स नाइटिङ्गेललाई उनको अग्रगामी भावना र नर्सहरूको विश्वव्यापी प्रभावलाई स्वीकार गर्दै श्रद्धाञ्जलि अर्पित गरिन्। उनले भनिन्, नर्सहरूले बिरामीको हेरचाह मात्र गर्दैनन् तर व्यक्तिहरूलाई निवारक उपायहरू सिकाउॅंछन् र स्वास्थ्य सेवा पहुँच बढाउन नीतिहरूको वकालत पनि गर्छन्। उनले सबैलाई नर्सहरूका समर्पण र त्यागको निम्ति कृतज्ञता व्यक्त गर्न आह्वान गरिन्।
कार्यक्रममा एसजीएनडब्ल्युएप्रति योगदानको निम्ति स्व. इन्दिराकला माथेमाको परिवारलाई सम्मानित गरियो। यसरी नै ओभिया आर्ट सर्किलका दिवाकर लामिछाने र शिव छेत्रीलाई पनि सम्मानित गरियो।