झापा: गोरखाको मनास्लु क्षेत्रमा १५ वटाभन्दा बढी हिमचितुवा पाइएको छ। ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट अफ चेक एकेडेमी साइन्सले करिब ३ वर्ष लगाएर मनास्लु क्षेत्रमा हिमचितुवा गणना गरेको थियो। पहिलो पटक हिमचितुवाको गणना गरिएको हिमचितुवा गणनाको नेतृत्व डा विक्रम श्रेष्ठले गरेका थिए। श्रेष्ठले चुम र नुब्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको जानकारी दिएका छन। उनका अनुसार मनास्लु क्षेत्रमा भेटिएका चितुवा लोपन्मुख प्रजातिका हुन्।
मनास्लु क्षेत्रमा पाइएका हिमचितुवा नेपालसहित एसियाको १२ वटा देशमा मात्र पाइने अध्ययन टोलीको निष्कर्ष छ। नुब्री भ्यालीमा सन् २०२० नोभेम्वर देखि २०२१ जनवरीसम्म हिमचितुवाको गणना गरिएको थियो ।चुमभ्यालीमा भने २०२१ डिसेम्बरदेखि २०२२ फेब्रअरीसम्म गणना भएको थियो। चितुवाको संख्या गन्न उनीहरुले चुम र नुव्री दुवैतर्फ ६०/६० वटा क्यामेरा जडान गरेका थिए। कुल ६ सय वर्ग किलोमिटरसम्म कभर हुने गरी क्यामेरा जडान भएको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार चुमभ्याली तर्फ चुम्लिङदेखि मु गुम्वा–कालुङ र नुव्रीतर्फ बिहीदेखि साम्दोसम्म क्यामेरा जडान भएको थियो। यसभन्दा अगाडि उक्त क्षेत्रमा हिमचितुवाको गणना नभएको जनाएको छ। १५ वटा चितुवाको संख्यालाई अध्ययन टोलीले सन्तोषजनक मानेका छन्। ‘अन्नपूर्ण र लाङटाङको करिडोर क्षेत्र मनास्लु भएकाले पनि यहाँ हिमचितुवाको गणना हुनु आवश्यक थियो’, उहाँले भन्नुभयो, ‘त्यसैले हामीले यो काम गरेका हौ।’
उनका अनुसार अनुसन्धान गरेर तथ्यांक संकलनको काम सकिएको छ। विश्लेषण गरेर प्रतिवेदन तयार गर्ने काम भने बाँकी छ। २ महिनाभित्र प्रतिवेदन तयार हुनेछ। ‘हिमचितुवाको बासस्थान र आहार प्रजातिलाई जोगाउनुपर्ने देखियो, नत्र यो प्रजातिको चितुवा लोप भएर जान्छ’, उनले भने।