गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमका अध्यक्ष भरत बस्नेत, मुख्य समन्वयक गणेश राई, संस्थापक अध्यक्ष एलपी काफ्ले र अन्य वरिष्ठ नेताहरूले आज गान्तोक जिल्लाको २४ मार्ताम रुम्तेकका विधानसभा उम्मेदवार कर्मा छिरिङ भोटियासॅंग निजी निवासमा शिष्टचार भेट गरे।
पार्टी अध्यक्ष एवं अन्य वरिष्ठ नेताहरूले उम्मेदवारका सम्पूर्ण परिवार र समष्टिका अन्य पार्टी कार्यकर्ताहरुलाई क्रमश खादा लगाएर उनीहरुको अथक मेहनतको निम्ति धन्यवाद प्रकट गरे।
यस्तै कार्यक्रम अप्पर बुर्तुक समष्टिको सिच्छेमा स्थानीय उम्मेदवार बीके तामाङको निजी निवासमा सम्पन्न भयो। यस अवसरमा पार्टी अध्यक्ष बस्नेत, मुख्य समन्वयक गणेश राई, संस्थापक अध्यक्ष काफ्ले तथा पार्टीका अन्य नेतृत्वहरू उपस्थित थिए।
आफ्नो छोटो सम्बोधनमा पार्टी अध्यक्ष बस्नेतले हिजो मुस्किल क्षणमा दिलोज्यानले पार्टीलाई सहयोग गर्ने कार्यकर्ताहरुलाई हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरे। उनले आफू सांसद निर्वाचित बनेको खण्डमा समग्र सिक्किमेलाई न्याय दिलाउने बताए।
सभालाई पार्टीका मुख्य समन्वयक गणेश राई, अप्पर बुर्तुकका उम्मेदवार बीके तामाङले पनि सम्बोधन गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।









