सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

IMG-20240509-WA0007.jpg

झापा: सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका पुलिस प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
बिहान ६ बजेतिर घटनाको विषयमा पुलिसले जानकारी पाएको थियो।
डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ। ‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन्। तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ’ डीएसपी न्यौपानेले भने। घटनामा संलग्न भएका आरोपमा पुलिसले एक जनालाई पक्राउ गरेको छ। मधेश प्रदेश पुलिस कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको सप्तरीका पुलिस उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले बताए। मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन्।

About Author

Advertisement