झापा: झापामा हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत उपलब्ध गराईएको छ।
विसं २०६८ देखि गत आर्थिक वर्षसम्म हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई रु सात करोड १९ लाख ७० हजार ६ सय ९७ राहत वितरण गरिएको छ। चालू आर्थिक वर्षमा मात्र हात्तीले सात जनाको ज्यान लियो। हात्तीको उपद्रोका कारण अर्बौं रुपैयाँको धनमाल क्षति हुने गरेको छ भने हात्तीबाट हालसम्म झापामा पाँच सय ३२ घटना भएका छन्।
त्यसबापत रु. एक करोड २६ लाख राहत वितरण गर्न अझै बाँकी रहेको डिभिजन वन कार्यालयले जनाएको छ। हात्तीको आक्रमणमा परी मृत्यु हुनेका परिवारलाई हाल राज्यले रु. १० लाख राहत रकम उपलब्ध गराउँदै आएको छ। विसं २०७४ असार अघि रु पाँच लाख प्रदान गरिँदै आएको थियो। विसं २०७१ असोज २५ गते अघि रु. तीन लाख र त्यसअघि हात्तीको आक्रमणमा परी मृत्यु हुनेको परिवारलाई रु. एक लाख ५० हजार राज्यबाट राहत रकम प्रदान गरिँदै आएको थियो।










