झापा (नेपाल): जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजारका सुनचाँदी व्यवसायीको दोहोरो नागरिकता मुद्दामा भारतीय दुतावासमार्फत प्रमाण झिकाउने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले नागरिकता मुद्दामा तारेख राखेर अनुसन्धान गरिहेका ११ जना सुनचाँदी व्यवसायीहरुलाई एक–एक महिनामा कार्यालयमा हाजिर गराएर अनुसन्धान गर्ने क्रममा थप प्रमाण जुटाउन भारतीय दुतावासमार्फत प्रमाण झिकाउने तयारी गरेको हो। सुनसरी प्रशासनले भारतमा उनीहरुले कुनै सरकारी कागजपत्र वा नागरिकता, आधारकार्ड, भोटरकार्ड, रासनकार्ड र पासपोर्ट जस्ता कुनै प्रमाणपत्र लिए नलिएको बारेमा भारतीय दुतावास मार्फत प्रमाण झिकाउन लागेको छ।
दोहोरो नागरिकता मुद्धामा २०८१ बैशाख ३१(१३ मई )सोमबार तारेखमा हाजिर हुन बोलाइएका ११ जनाको मुद्धा अनुसन्धानका क्रममा अन्य प्रमाण कागजहरु समेत सुनसरी प्रशासनले जुटाएको छ। प्रशासनको नागरिकता फाँटले नागरिकता प्रमाणपत्र नम्बर र सो मितिमा नागरिकता प्रमाणपत्र लिदा पेश गरेको अनुसूची फारम र सोमा पेश गरेका कागजपत्रहरु नागरिकता अभिलेख शाखाबाट झिकाएर अनुसन्धान थालेको पाइएको छ। सो क्रममा दिलिप सोनारको नागरिकता दिलाउन सनाखतमा बस्ने उनका बुवा खटर सोनार, मञ्जु साहको सनाखतमा बस्ने पति बब्लुकुमार साह, श्रवणकुमार सोनारको सनाखतमा बस्ने सिताराम रौनियार, नवराज सिह र जलेवा खातुनको बारेमा थप अनुसन्धान गर्ने भएको छ। सलेन्द्र स्वर्णकारको सनाखतमा बस्ने इस्लाम खाँन, उपेन्द्र स्वर्णकारको सनाखतमा बस्ने चिनेश्वर मेहता, बब्लुकुमार साहको सनाखतमा बस्ने कमल सुवेदी, बद्रीप्रसाद लुइटेल र बासुदेव साहको बारेमा सुनसरी प्रशासनले अनुसन्धान थालेको हो। यसैगरि बिनोदकुमार सोनीको सनाखतमा बस्ने सुरेन्द्रप्रसाद यादव, तरुण साहको नागरिकतामा सनाखतमा बस्ने सुरेन्द्रप्रसाद यादव, शम्भु ठाकुरको नागरिकतामा सनाखतमा बस्ने मनोज ठाकुर, राजिव साहको सनाखतमा बस्ने बुवा विशेश्वरप्रसाद साहको समेत थप अनुसन्धान थालेको पाइएको छ।
यससगै अमरजित झाको नागरिकतामा सनाखतमा बस्ने बुवा अजयकुमार झाको समेत नागरिकताको सक्कलप्रति अध्ययन थालेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा भारतीय नागरिक रहेका व्यक्तिले झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको उजुरीका आधारमा छानबिन थालेको सुनसरी प्रशासनले अनुसन्धानका क्रममा सनाखतमा बस्नेसमेत अनुसन्धान थालेको हो। सुनसरी प्रशासनमा १२ जना सुनचाँदी व्यवसायीसहित ८१ जनाले दोहोरो नेपाली नागरिकता प्रमाणपत्र लिएको उजुरी परेपछि अनुसन्धानका क्रममा प्रशासनले ८१ जनामध्ये केहीको हकमा अदालतमा मुद्दा चलिरहेको र केहीको हकमा कारवाहीका लागि जिल्ला पुलिस कार्यालय सुनसरीलाई फायलसहित पठाएको जनाएको छ।










