म्याड्रिड: म्याचको अन्तिम समयमा हासिल गरेको २ गोलको सहायताले बायर्न म्यूनिख विरुद्ध यादगार जीतको साथ रियल म्याड्रिडले यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको फाइनलमा स्थान बनायो। यस प्रतिष्ठित प्रतियोगिताअन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेगको म्याचमा बुधवार राति रियल म्याड्रिडले जर्मनीको क्लब बायर्नलाई २-१-ले पराजित गऱ्यो। यसअघि बायर्न म्यूनिखको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच २-२-ले ड्र रहेको हुनाले समग्रमा ४-३-ले विजयी भएर स्पेनिश क्लब फाइनलमा पुग्यो। प्रतियोगितामा रेकर्ड १४ पल्टको च्याम्पियन रियल म्याड्रिडले अब २ जूनमा लण्डनको वेम्बले स्टेडियममा खेलिने फाइनलमा जर्मनीकै क्लब बोरुसिया डर्टमण्डको चुनौती स्वीकार्नेछ।

म्याच आशानुरुप नै रोमाञ्च र उत्तेजनाले भरिएको रह्यो अनि म्याचको तीनैवटा गोल स्थानापन्न (सब्स्टीट्यूड) खेलाड़ीले दर्ता गरे। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ५८ प्रतिशत पोजेशनको साथ खेले पनि एक समय रियल म्याड्रिड चरम संकटमा परेको थियो। म्याचको पहिलो हाफमा सर्जे ग्नाबरी चोटको शिकार हुँदा २७औं मिनटमा मैदानमा प्रवेश गर्ने अल्फन्सो डेविसले बायर्नलाई बढ़त दिलाए। यसरी म्याचको ६८औं मिनटमा बढ़त हासिल गरेपछि बायर्नको जीत लगभग तय लागिरहेको थियो तर रियल म्याड्रिडले पनि अन्तिम समयमा लगातार २ गोलको साथ विपक्षी टीमलाई स्तब्ध पाऱ्यो। रियलको यस असाधारण जीतको नायक रहने जोसुलेले पहिला ८८औं मिनटमा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। त्यसपछि उनले फेरि इञ्ज्युरी टाइमको पहिलो मिनटमै गोल गरी रियललाई बढ़त दिलाए। फेडेरिको भाल्भर्देको स्थानमा मैदानमा प्रवेश गर्ने स्टोक सिटीका पूर्व खेलाड़ी जोसुलेले रियललाई जीतको संघारमा पुऱ्याए पनि बायर्नले हरेस खाएन अनि लगातार आक्रमण गर्न थाल्यो तर होम टीमले पनि लड़ाकू प्रदर्शन गर्दै बढ़तलाई अन्तसम्म कायम राखेर फाइनलमा स्थान बनायो। म्याच जितेपछि रियल म्याड्रिडका स्टार मीडफिल्डर जूड बेलिंघमले भने, वेम्बलेमा डर्टमण्ड विरुद्ध म्याच। सोच्दा पनि अचम्भ लागिरहेको छ। सात वर्षको उमेरमा बर्मिंघममा हुँदा मैले यस्तै म्याचको सपना देखेको थिए। बेलिंघम जस्ता खेलाड़ीको सपना साकार हुन पुगे पनि बायर्नका हेरी केन र एरिक डाएर जस्ता खेलाड़ीको सपना चाहिँ भताभुंगै भयो।

गत सीजनको अन्तमा टोटनह्यामबाट बायर्नमा आउने केनले यस सीजनमा सबै मिलाएर ४४ गोल गरे पनि उनको यूरोपेली क्लब फूटबलको सबैभन्दा प्रतिष्ठित टुर्नामेण्टमा खिताब जित्ने सपना साकार हुन सकेन। साल २०१९-को च्याम्पियन्स लीग फाइनलमा लिभरपूल विरुद्ध २-०-ले पराजित हुने टोटनह्यामको टीममा पनि केन र डाएर रहेका थिए।










