पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको पहलमा आज रूअर्वन कम्पलेक्सको प्रेक्षागृहमा प्रि मनसुन तयारीलाई एक बैठक सम्पन्न भयो। आजको यस बैठकमा वरिष्ठ पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चा, अतिरिक्त पुलिस अधिक्षक रिञ्जिङ छोपेल राई लगायत विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।
यस बैठक आयोजना गरिनुको मुख्य उद्देश्य आगामी मनसुन मौसममा सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्नु, थप सुरक्षित र प्रभावकारी प्रतिक्रियाको लागि विभागहरू बीचमा समन्वय राखेर रणनीति तयारबारे छलफल गर्नु थियो।
बैठकलाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले गत वर्ष टिस्टा नदीमा बाढ आउँदा समयमा विभिन्न विभागहरूले प्रदान गरेको अमूल्य सहयोगको प्रशंसा गरे। बैठकको उद्देश्यलाई जोड दिँदै उनले लाइन विभागहरूको समग्र तयारी र अवरोधहरूको मूल्याङ्कन गर्दै, सुधार गर्न आवश्यक क्षेत्रहरू चिन्हित गरे।
उनले विपद्को समयमा सुरक्षा सुनिश्चित गर्न लाइन विभागहरूलाई सहकार्य गर्न र राम्रोसँग समन्वयित योजनाहरू कार्यान्वयन गर्न आग्रह गरे। विशेष गरेर स़डक र बजारतिर रहेका ढल्न लागेका रूखहरू र झरेका हाँगाहरूबाट हुने क्षतिलाई रोक्न उनले उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गर्न सम्बन्धित विभागहरूलाई सल्लाह दिए। यसका साथै अप्रत्याशित घटनाबाट बाँच्न फगिङ र सरसफाईको माध्यमबाट पानीजन्य रोगको रोकथाम र अवरुद्ध नालाको उचित सरसफाई गरी जनताको जीविकोपार्जनलाई सुरक्षित तुल्याउन सबैलाई पहल गर्न उनले आग्रह गरे।
यसै क्रममा वरिष्ठ पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चाले एम्बुलेन्सको संख्यामा बढाएर र विपद्को समयमा पुनर्स्थापना र उद्धार कार्यका लागि मेसिनरी तैनात गरेर आपतकालीन तयारीलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिए।










