झापा (नेपाल): सुनसरीको इनरुवा नगरपालिकाका दुईवटा आधारभुत विद्यालयमा अध्यनरत बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरिएको छ। लायन्स क्लब अफ बिजयपुर धरानको आयोजनामा इनरुवा -३ निवासी समाजसेवी प्रमोद भण्डारीले स्व. श्रीमती शान्ति गुरुङ भण्डारीको स्मृतीमा छोरी मायरा भण्डारीको तर्फबाट स्कुल ब्याग प्रदान गरेका हुन्। इनरुवा -२ स्थित बुढासुब्बा आधारभुत विद्यालयमा कक्षा एकदेखी कक्षा पाँचसम्म अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयको शैक्षिक सामग्री बोक्न राख्न स्कुल ब्यागका साथै अन्य शैक्षिक सामग्री वितरण गरिएको हो। यससगै इनरुवा – ४ स्थित रेडक्रस आधारभुत विद्यालयमा अति गरिब विपन्न समुदायका बालबालिकाले प्लाष्टीकका बोरा सिलाएर शैक्षिक सामग्रीहरु राखी झोलाका रुपमा प्रयोग गर्दै आएकाले १६ जना बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ।
समाजसेवी प्रमोद भण्डारीले अति गरिब विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउनका लागि विद्यालय व्यवश्थापन समितिको आग्रहमा स्कुल ब्याग वितरण गरिएको बताए। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ धरान लायन्स इन्टरनेशनलका निवर्तमान डिस्ट्रीक गर्भनर धिरज गुरुङले लायन्स क्लवले इनरुवा नगरक्षेत्रमा रहेका सरकारी सामुदायिक विद्यालयमा विभिन्न सहयोगी दाताहरुको सहयोगमा विभिन्न प्रकारका शैक्षिक सामग्रीहरु प्रदान गरि शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्दै आएको बताए। डिस्ट्रीक गर्भनर गुरुङले सुनसरी मोरङका सरकारी सामुदायिक विद्यालयका बालबालिकालाई लायन्स क्लब आफै शैक्षिक सामग्री छपाई गरेर आवश्यकताका आधारमा कार्यक्रमको आयोजना गरेर वितरण गर्दै आएको बताए।








