खरसाङको लङ्भ्यूमा बाल विवाह बारे सचेतना कार्यक्रम
टीआरआई समाचार
खरसाङ: बालविवाह जस्तो विकृति र विसङ्गति यताका समाजमा पनि भित्रिन थालेपछि यो ठूलो चुनौतीपूर्ण समस्याको रुपमा देखा परेको छl भर्खरै दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रको सक्रियतामा पुलिस विभाग र खण्ड विकास कार्यालयको सहयोगमा खरसाङ महकुमा क्षेत्रमा दुईवटा बाल विवाह घटना स्थलमै पुगेर रोक्न सफल भएको छl यो दुईवटा बाल विवाहको घटनाले यताका समाजलाई झझाक्याएको छl बाल विवाह परिवार र समाजको लागि घातक साथै ठूलो समस्या होl यसै विषयलाई लिएर शनिबार लङ्भ्यूमा आईसीडीएसको आयोजनामा गैर सरकारी संस्था कन्चनजङ्घा उद्धार केन्द्रद्वारा संचालित दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्र र स्किम फर एडोलसेन्स गर्ल्स (एसएजी) लाई साथमा लिएर सचेतनामूलक कार्यक्रम सम्पन्न भयोl सो कार्यक्रम लङ्भ्यूको भेलाकूप सार्वजनिक हलमा सम्पन्न भयोl

विद्यार्थीहरु भेला भएको यस सचेतना कार्यक्रममा चाइल्डलाइन खरसाङ उप केन्द्रका टीएम मेम्बर किशोर छेत्रीले बाल विवाह सामाजिक साथै कानुनी अपराध रहेको बताएl उनले विद्यार्थीहरुलाई बाल विवाहले हुने क्षति साथै उत्पन्न हुने समस्या बारेमा जानकारी दिएl यसका साथै उनले सोसियल मिडियाको दुरुपयोगबाट हुने समस्याहरु जानकारी दिँदै यसको सदुपयोग गर्नुपर्ने सुझाव दिएl यौन उत्पीडनबाट सतर्क रहने साथै बालबालिकालाई कुनै आपद्विपद आइपरे चाइल्डलाइनको नि:शुल्क राष्ट्रिय टेलिफोन परिसेवा १०९८ मा फोन गरेर जानकारी दिनुपर्ने उनले बताएl एसएजीकी प्रभारी स्मृति छेत्रीले बाल विवाहबाट हुने क्षति बारेमा जानकारी दिइन्l उनले कन्याश्रीको योजनाबाट पाउने सहयोगहरु बारेमा पनि जानकारी दिइन्l यस सचेतना कार्यक्रममा आईसीडीएसको तर्फबाट बबिता लामा, अन्तिमा घतानी, अरुणा विश्वकर्म, पवित्र थापा, नम्रता तामाङ, दीपमणि लामा, करुणा प्रधान, अन्जिता मोक्तान, चाइल्डलाइन खरसाङ उप केन्द्रका टीएम मेम्बर सौरभ बसेल साथै कन्चनजङ्घा उद्धार केन्द्रका प्रतिनिधी उपस्थित थिएl
उल्लेख, बाल विवाह बालबालिका, परिवार साथै समाजका लागि एउटा चुनैतीपूर्ण घातक समस्या होl बाल विवाहले सबैभन्दा पहिला बालबालिकाको बाल्यकाललाई तुहाउँदछ भने उनीहरुको बाल अधिकार हनन् हुँदछl एउटी सानी बालिकासित शारीरिक रुपले आमा बन्नसक्ने क्षमता हुँदैन, उमेर पुग्न अघि नै गर्भधारण हुँदा उसको जीवनमा ठूलो जोखिम उत्पन्न हुन्छl उमेरको हिसाबले वैवाहिक जीवनको वव्यवस्था गर्नका लागि मानसिक रुपले तयारी भएका हुँदैनन्l बाल विवाह बढ्न थाले बाल बालिकाहरुको शिक्षामा बाधा उत्पन्न हुन्छl बाल विवाहका कारण परिवारले समस्या झेल्नु पर्छl यस्तो क्रम बढ्न थालेपछि समाजमा अशिक्षितहरुको संख्या बढ्न थाल्छ, यदि यस्तो भए समाजमा अर्को समस्या पैदा हुन्छl बाल विवाहको अधिनियमअनुसार केटीको बिहे गर्ने उमेर १८ अनि केटाको उमेर २१ वर्ष भनिएको छl तर अब केटीको बिहे गर्ने उमेर २१ वर्ष हुनेछl बाल विवाह कानुनी अपराध हो यदि बाल विवाह गरेको घटना स्थलमा भेटाए यससित संलग्न सबैजनामाथि कानुनी कारबाही हुँदछl